पैसामा लागि बिना कारण महिलाको पाठेघर अपरेशन

काठमाडौं, साउन । रौतहटको सीमावर्ती भारतीय बजारमा उपचारका लागि पुग्ने प्रदेश नम्बर २ का बिरामी महिलाहरुको बिना कारण पाठेघरको अपरेसन गर्ने गरिएको सार्वजनिक भएको छ ।

रौतहटको चन्द्रनिगाहपुरमा आयोजित एक कार्यक्रममा बोल्दै डाक्टर खेम कार्कीले उक्त खुलासा गरेका हुन् ।

त्रिभुवन बिश्व विद्यालयका विशेषज्ञ डाक्टर कार्कीले बढी पैसा कमाउने प्रलोभनमा परेर सीमावर्ती भारतीय बजारका केही डाक्टरहरुले मधेशबाट उपचार गराउन जाने अधिकांश महिलाहरुको पाठेघरको अपरेसन गरिदिने गरेको बताए ।

रौतहट, बारा, सर्लाहीलगायतका जिल्लाका महिलालाई सम्बन्धी सामान्य रोग लागेर भारतीय बजार पुग्दा केही डाक्टरले उपचार नगरी बिभिन्न भ्रममा पारी पाठेघरको अपरेसन गरिदिने गरेको उनको भनाई छ ।

गम्भीर प्रकृतिका पाठेघरको रोग लागेमा मात्र बिरामी महिलाको पाठेघको अपरेसन गर्ने गरिन्छ । तर पैसा कमाउने उद्देश्यले अपरेसन गरी बिरामीको पैसा र ज्यानसँग खेलवाड गरिएको कार्कीको दाबी छ।

पाठेघर सम्बन्धी रोग लागेमा कम्तिमा ३ देखि ४ वटा राम्रा डाक्टरसँग परामर्श गरेपछिमात्रै अपरेशन गराउनेबारेको निष्कर्षमा पुग्न उनले सुझाएका छन् ।

यता रौतहट र बाराका बजारका केही क्लिनिक सञ्चालकहरु र भारतीय क्लिनिक सञ्चालकले स्थानीय झोले डाक्टरहरुलाई दलालको रुपमा परिचालन गरेर दर्जनौ मानिसलाई ठगी गरिरहेको स्थानीय पत्रकार ओमप्रकाश यादवले बताए ।