महासचिव पोखरेलद्वारा पुनको स्वास्थ्य अवस्थाको जानकारी

काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएका छन् ।

सुमेरु अस्पतालमा आज बिहान पुगेर महासचिव पोखरेलले नेता पुनको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएको नेता पुनका स्वकीय सचिव सन्तोष पुनले जानकारी दिएका छन् । यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेललगायतले पनि अस्पतालमा पुगेर नेता पुनको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएका थिए ।

शनिबारदेखि सुमेरु अस्पतालमा भर्ना भएका हुन् । गत मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपश्चात् जिल्लाका विभिन्न कार्यक्रममा सहभागी हुन उपमहासचिव पुन केही दिन पहिले रोल्पा पुगेका थिए ।

रोल्पा पगेका नेता पुनको स्वास्थ्यमा समस्या देखिनासाथ हेलिकोप्टरबाट अस्पताल ल्याइएको थियो । स्वास्थ्यमा समस्या देखिएपछि उनले केही समय पहिले चीनको १ अस्पतालमा उपचार गराउनुभएको थियो । कमलपित्त रोगबाट पीडित पुनको स्वास्थ्य अवस्थामा समस्या देखिएपछि रोल्पाबाट काठमाडौँ ल्याइएको बताएका थिए ।