नेपालको अर्थतन्त्र चिन्ताजनक अवस्थामा नरहेको : अर्थमन्त्री

काठमाडौँ । भुकम्पनले ढाल्न नसकेको र कोभिड १९ ले प्रभावित नपारेको अर्थतन्त्र कसरी चिन्ताजनक अवस्थामा पुग्यो अर्थमन्त्री विष्णु पौडेलले प्रश्न गरेका छन् । बुधबार नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको अर्थतन्त्रः अबको बाटो विषयक कार्यक्रममा बोल्दै उनले नेपालको अर्थतन्त्र चिन्ताजनक अवस्थामा नरहेको दाबी समेत गरेका छन् ।

उनले भने, ‘मेरो मनमा एउटा जर्बजस्त प्रश्न छ, भुकम्प जस्तो चुनौतिको सामना गरेको, भुकम्पले ढाल्न नसकेको, नाकाबन्दीले झुकाउने नसकेको नेपाली अर्थतन्त्र हामीले सम्हाल्दै आएका हौँ, सरकार, नीजि क्षेत्र, सहकारी क्षेत्र र सरकार सबै मिलेर सामुहिक रुपमा जुध्दै आएका थियौँ ।’

‘विश्व अर्थतन्त्रलाई चुनौति दिएको कोभिडको सामाना गर्दै हामी अगाडी बढ्न सकेका हौँ । कोभिडले पनि अर्थतन्त्रको जहाजलाई रनवे भन्दा बाहिर लैजान सकेको थिएन । तर, आज कोभिड, नाकाबन्दी, भुकम्प केही छैन अनि हामी किन आर्थिक रुपमा चिन्ताजनक अवस्थामा छौँ ?’ उनले भने, ‘किन सक्षम पाइलट खोज्ने अवस्थामा छौँ ? किन इन्जिन जाँच गर्नुपर्ने अवस्थामा छौँ ?’

अर्थमन्त्री पौडेलले भने, ‘म अहिले डायलासिसकै फेजमा छु, तर समस्याका विरुद्ध सार्थक र निर्णायक प्रहार गर्ने योजना छ ।’ अर्थमन्त्रालयमा प्रवेश गरेको दिनदेखि नै आफुले मुलुकका आर्थिक अवस्थाको बारेमा सुक्ष्म ढंगबाट अध्ययन गरिरहेको बताए । उनले भने, ‘नीजि क्षेत्रसँग समन्वय गरिरहेको छु, अपेक्षा सुनिरहेको छु, आलोचना सुनिरहेको छु ।’