सगरमाथा जलविद्युत्को आइपिओ बिक्री खुला

काठमाडौँ । सगरमाथा जलविद्युत् कम्पनी लिमिटेडले साधारण शेयर निष्काशन तथा बिक्री खुला गरेको छ ।

आजदेखि आयोजनाबाट पीडित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्राथमिक सार्वजनिक निष्काशन आइपिओको बिक्री खुला गरेका छन् ।

कम्पनीले आफ्नो जारी पुँजी १ अर्ब १२ करोडको १० प्रतिशत अर्थात् ११ करोड २० लाख बराबरको प्रतिशेयर १ सय दरका ११ लाख २० हजार कित्ता साधारण शेयर आयोजनाबाट पीडित क्षेत्र इलामवासीका लागि निष्काशन गरेका हुन् ।

त्यस्तै सर्वसाधारण लगानीकर्ताका लागि छुट्याइएको ४३ लाख ६८ हजार कित्ताको १० प्रतिशतले हुने ४ लाख ३६ हजार ८ सय कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरिरहेका नेपालीका लागि पनि निष्काशन गर्न लागेको कम्पनीको सार्वजनिक आह्वानपत्रमा उल्लेख गरेका छन् ।

स्थानीय लगानीकर्ताले शेयर खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्ने भएका छन् । यही माघ १९ गतेसम्म हुनेछ भने ढिलोमा आगामी फागुन ५ गतेसम्म हुने कम्पनीले जानकारी दिएका छन् । वैदेशिक रोजगारीमा रहेका नेपालीले भने अधिकतम ५० हजार कित्ताका लागि यही माघ १९ गतेभित्र आवेदन दिनुपर्ने बताएका छन् ।

स्थानीय बासिन्दाले आयोजनास्थलमा रहेको कम्पनीको कार्यालय, प्रभु बैंक, सेञ्चुरी बैंक, र प्राइम कमर्सियल बैंकले तोकेका शाखा कार्यालयबाट आवेदन दिन सक्ने बताएका छन् । वैदेशिक रोजगारीमा रहेका नेपालीले आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिनसक्ने कम्पनीले जानकारी दिएको छ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको रआइपिओ निष्काशनका लागि गराइएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी आइआर बिबिबी माइनस रेटिङ प्रदान गरेको छ । कम्पनीले इलामको इलाम नगरपालिका–२ स्थित माई खोलामा ९ दशमलव ६ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण गरिरहेको बताएका छन् ।