जीवित शिशुलाई मृत घोषित गर्ने डा.यादव सहित दुई स्वास्थ्यकर्मी निलम्बित

काठमाडौँ । जीवित शिशुलाई मृत घोषणा गर्ने विराटनगर कोशी अस्पतालका तीन स्वास्थ्यकर्मी निलम्बनमा परेका छन्। अस्पताल प्रशासनले डा. आकाश यादव, दुई पारामेडिकल अफिसर टिका अधिकारी र लक्ष्मण माझीलाई ७ दिनका लागि निलम्बन गरेर घटनाको छानबिन सुरु गरेको हो।

डा. यादवले (बुधबार) उपचारका लागि कोशी अस्पताल ल्याइएकी १८ दिने जीवित शिशुलाई मृत घोषणा गरेका थिए। जहदा–३ भाथीगछका दिलीप मुखियाले उपचारका लागि अस्पतालको आकस्मिक कक्षमा ल्याएका थिए। डाक्टर यादव नेतृत्वको स्वास्थ्यकर्मीको टोलीले शिशुको उपचार नै नगरी शिशुलाई मृत घोषणा गरिदिएको पीडित पक्षको आरोप छ।

पारामेडिकल यादवलाई २४ घण्टे स्पष्टीकरण माग्दै ७ दिनका लागि निलम्बन गरिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा.लक्ष्मीनारायण यादवले बताए। निलम्बनमा परेका स्वास्थ्यकर्मीहरूमाथि छानबिनका लागि अस्पतालले बिहीबार छानबिन समिति समेत गठन गरेको छ।

अस्पतालका बालरोग विशेषज्ञ डा। प्रविण झाको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको अस्पतालले जनाएको छ।

अस्पतालका अनुसार समितिमा बाल रोग विशेषज्ञ डा. सूर्यकान्त चौधरी र रामप्रसाद नेपाल सदस्य रहेका छन्। समितिलाई प्रतिवेदन बुझाउन सात दिनको म्याद दिइएको छ। अस्पतालले मृत्यु भएको घोषणा गरिदिएपछि आफन्तले दाहसंस्कारको तयारीसहित शिशुलाई डिस्चार्ज गरी घर लाने तयारी भइरहँदा हात–खुट्टा चलाएपछि शिशु जीवित रहेको खुलेको थियो।

शिशु जीवितै रहेको चाल पाएपछि परिवारका सदस्यले पुनः शिशुलाई उपचारका लागि गोल्डेन हस्पिटल भर्ना गरेका थिए। त्यसपछि आक्रोशित आफन्तको समूहले कुटपिट गर्दा डा. यादव घाइते भएका थिए।