जापान जाने लोभमा बिल्लीबाठ

काठमाडौँ । चितवनका राजेन्द्र अधिकारी र मोरङ सुनवर्षी–६ का अजय राजवंशी जापानको गार्मेन्ट उद्योगमा काम गर्नुहुन्थ्यो । उहाँहरूसँगको सम्पर्कमा थिए धरानका मिन्चिरा चाम्रकार, ठेगाना नखुलेका ज्योति घले र कर्णकुमार दवाडी ।

यो समूहले जापानको गार्मेन्ट उद्योगमा काम गर्न लैजाने भन्दै मोरङका युवालाई लोभ्याए । जसमध्ये सुनवर्षीका अजयलाई जापान जाने युवा खोजेर पैसा सङ्कलन गर्ने जिम्मा दिइयो । अजयले आफन्तहरूमा यसको जानकारी गराएपछि सबैले धमाधम पैसा बुझाए ।

यो प्रलोभनमा जापान जान तयार भएका ४१ जनामध्ये मोरङका मात्रै ४० जना युवाको पैसा डुबेको छ । यसरी पैसा डुब्ने र ठगिनेमा अजयको सम्पर्कमा आएका मोरङका ४० जना युवा एउटै राजवंशी समुदायका छन् । जापानको हल्ला गत चैतदेखि सुरु भएको थियो । वैशाखदेखि पैसा खोज्न र जम्मा गर्न थालिएको थियो । राजेन्द्रले सामान्य जापानी भाषा जान्नेहरूलाई लैजान सकिने भनेपछि पैसा बुझाएका युवाले विराटनगरको इडुमार्कमा अध्ययन गरे ।

उहाँहरूमध्ये अजयकी बहिनी विद्या, भाइ रञ्जित र रञ्जितकी श्रीमती अनुराधा पनि रहेको पीडित युवक हरि राजवंशीले बताउनुभयो । जापान जाने भनेपछि अनुराधा र रञ्जित विवाह बन्धनमा बाँधिएका थिए । राजेन्द्रले युवालाई ठग्ने नियत राखेपछि जापान जान तयार भएका युवाले जम्मा गर्ने पैसा अजयका भाइ रञ्जित, बुहारी अनुराधा र बहिनी विद्याको नाममा जम्मा गर्न लगाए । सुरुसुरुमा राजेन्द्रको नाममा समेत पैसा जम्मा गर्न लगाइएको थियो ।

मुख्य योजनाकार भनिएका राजेन्द्र र अजयले उठेको रकम लिएर पुनः जापान गएको खुलेको छ । अजयसहित उनका भाइबुहारी रञ्जित–अनुराधा र बहिनी विद्या फरार छन् । उहाँहरूले वैदेशिक रोजगार विभागमा पुस २८ गते राजेन्द्रविरुद्ध उजुरी दिनुभएको छ । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारसँग सम्बन्धित नभई ठगी कसुर गरेको देखिएको भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा पत्राचार गरेको छ ।

पैसा बुझाएका र पैसा बुझाउन आग्रह गर्नेहरू एकै पटक राजेन्द्र समूहको जालमा फसेपछि अहिले मोरङको दक्षिणवर्ती क्षेत्रका युवाको कन्तबिजोग भएको छ । बारम्बार कानुनी उपचारको खोजीमा रहेका उहाँहरूले अजयसहित अजयका भाइबुहारी र बहिनीविरुद्ध जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी दिएका छन् । त्यसका आधारमा जिल्ला प्रहरी र इलाका प्रहरी कार्यालयमा व्यक्ति उपस्थित गराउन निर्देशन दिइएको छ ।

सुनवर्षी नगरपालिकाका प्रमुख श्यामप्रसाद राजवंशीले गाउँ नै अशान्त भइरहेको बताउनुभयो । पैसा उठाउन लगाउने राजेन्द्र फरार भएपछि गाउँका युवाले गाउँकै व्यक्तिलाई समाउनुपर्ने माग राखिरहेको उहाँले बताउनुभयो । प्रशासनले तत्काल राजेन्द्रलाई नियन्त्रणमा लिएर सबैमाथि न्याय गर्नुपर्ने माग उहाँले गर्नुभयो ।

नक्कली ‘सीओई लेटर’ बनाएर राजेन्द्रले अन्तिम किस्तासम्मको रकम हाल्न लगाएको देखिएको छ । कटहरी–३ का विवेक राजवंशीले मासिक चार लाख रुपियाँ कमाइ हुने आश्वासनमा १८ लाख रुपियाँ बुझाएको बताउनुभयो । पैसा बुझाएर जापान जान नपाएका पीडित युवाले बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गरेर आफूहरूको बाध्यता सुनाएका छन् ।

रङ्गेली नगरपालिका–८ का राजेश्वर राजवंशीले गत पुस १५ गते मात्रै आफूहरूले नक्कली ‘सीओई लेटर सर्टिफिकेसन अफ इलिजिबिलिटी०मा पैसा जम्मा गराएर ठगिएको जानकारी पाएको बताउनुभयो । अजयसँग पाँच वर्षसम्म एउटै कोठामा बस्नुभएका राजेश्वरले साथी गलत थियो कि उसलाई परिचालन गर्ने भन्ने यकिन नभएको बताउनुभयो । नातामा हामी सबै राजवंशी जोडिएका छौंँ, राजेश्वरले भन्नुभयो, फस्दा सबै यही समुदायका युवा फसेका छौँ ।

जापान जान पाउने प्रलोभनमा कतिले घरजग्गा बन्धकी राखेर साहुसँग रकम लिएका छन् । सयकडा तीनदेखि पाँच प्रतिशतसम्मको ब्याज दरले ऋणको ब्याज बढ्दै गएको छ । झापा कनकाई–१ का भवानीप्रसाद अधिकारीले आठ लाख रुपियाँ बुझाएको सुनाउँदै भन्नुभयो, मोरङ आएर फसेँ, बिजोग भयो अब कसरी पैसा उठाउने चिन्ता थपियो ।

जापान जाने धुनमा रहेकी कल्पना राजवंशीले चार लाख २० हजार रुपियाँ बुझाएको बताउनुभयो । त्यसपछि रकम जम्मा गर्ने युवाले सात लाख, आठ लाख, १० लाख हुँदै छ जनाले १६ लाख र एक जनाले १८ लाखसम्म बुझाएका छन् । उनीहरूले बैङ्कमा जम्मा गरेको पैसाबाहेक नगदसमेत बुझाएका थिए । गोरखापत्र