अन्नपूर्णले जित्यो महिला भलिबलको उपाधि

काठमाडौँ । म्याग्दीको बेनीमा आयोजना भएको खुल्ला महिला भलिबल प्रतियोगिताको उपाधि अन्नपूर्ण गाउँपालिकाले हात पारेको छ । शुक्रबार बेनीको खुल्ला मञ्चमा भएको फाइनल खेलमा धवलागिरी गाउँपालिकालाई सोजो ३ सेट पराजित गर्दै अन्नपूर्ण गाउँपालिकाले महिला भलिबलको उपाधि जितेको हो ।

प्रतियोगितामा धवलागिरी गाउँपालिकालार्ई २५–२२, १७–२५ र १०–२५ को सेटमा पराजित गर्दै अन्नपूर्ण गाउँपालिका प्रथम हुन सफल भएको हो जिल्ला भलिबल संघ म्याग्दी अध्यक्ष तेजेन्द्र बानियाँले बताउनुभयो ।

महिला भलिबल प्रतियोगितामा प्रथम हुनेले ५५ हजार ५५५ रुपियाँ र दोस्रो हुनेले ३३ हजार ३३३ रुपियाँ पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, ब्लकर, सर्भर, डिफेन्डर र सेटरलाई नगद पुरस्कारको व्यवस्था गरिएको छ ।

सातौं म्याग्दी महोत्सव एवम् माघेसङ्क्रान्ति मेला तथा प्रदेशस्तरीय कृषि, पर्यटन तथा औद्योगिक व्यापार मेला–२०७९ को अवसरमा खुल्ला महिला भलिबल प्रतियोगिता आयोजना गरिएको हो । गोरखापत्र