बाँकेमा दादुराका बिरामी बढ्दै

काठमाडौँ । बाँकेमा दादुराका बिरामी बढ्दै गएका छन् । जिल्लाभर दुई सय नौ दादुराका बिरामी फेला परेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका खोप ‘फोकल पर्सन’ नरेश श्रेष्ठले बताएका छन् ।

उनका अनुसार सबैभन्दा धेरै नेपालगञ्जमा १ सय ९१ बिरामी फेला परेका छन् भने नरैनापुर गाउँपालिकामा १३, खजुरा गाउँपालिकामा ३ जना र कोहलपुर नगरपालिकामा २ जना फेला परेको बताए ।

जिल्लामा अहिलेसम्म १ सय ५० निको भइसकेका छन् भने १ जनाको मृत्यु भएको छ र ५८ घरमै उपचाररत छन् । नेपालगञ्जका ३१ हजार ४२ जना र खजुराका ५ हजार ९ सय ७४ जना गरी ३७ हजार १६ बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप लगाइएको खोप फोकल पर्सन श्रेष्ठले बताएका छन् ।

नरैनापुर गाउँपालिकामा दादुराका बिरामी भेटिएपछि बालबालिकालाई बिहीबारबाट दादुरा रुबेलाविरुद्धको खोप लगाउन सुरु गरिएको छ । दादुराको जोखिम देखिएका वडाहरुका ६ महिना देखि १५ वर्ष उमेर समूहका करिब चौध हजार २२ जना बालबालिकालाई खोप लगाइने नरैनापुर स्वास्थ्य संयोजक नगेन्द्रकुमार शाहले बताए ।

नरैनापुरमा फैलिरहेको दादुरा महामारीे नियन्त्रणमा लिन खोप अभियान सुरु गरिएको नरैनापुर गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहले बताएका छन् । दादुराविरुद्धको खोपप्रतिको सचेतना अभावका कारण खोप प्रयोग नगर्दा प्रकोप फैलिएको उनको भनाइ रहेको छ ।