परराष्ट्र नीति सन्तुलित, विश्वसनीय र भरपर्दो हुनुपर्छ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष कोपी शर्मा ओलीले नेपालले सबै राष्ट्रहरुसँग सन्तुलित, विश्वसनीय र भरपर्दो सम्बन्ध कायम राख्नुपर्ने बताएका छन् ।

नेकपा एमालेको परराष्ट्र विभागले आज यहाँ आयोजना गरेको दुई दिने अभिमुखीकरणमा उनले अन्तर्राष्ट्रियस्तरमा नेपालले सन्तुलित र विश्वसनीय शक्तिका रुपमा स्थापित हुने गरी सम्बन्ध कायम राख्नुपर्ने बताएका छन् ।

हामीले २ वटा छिमेकीसँग स्पष्ट र भरपर्दो सम्बन्ध बनाउनुपर्छ, बोल्ने एउटा र व्यवहार अर्को गर्नु हुँदैन, अध्यक्ष ओलीले भने, असल छिमेकी बन्नका लागि भलो चिताएर, उनीहरुको चासो, चिन्तालाई समेत यथोचित सम्बोधन गरी अघि बढ्नुपर्छ ।

नेपालको सार्वभौमसत्तामाथि अतिक्रमण हुने नदिने र देशको सार्वभौमसत्ता, स्वाधीनतामा कसैलाई प्रयोग हुन नदिने उल्लेख गर्दै ओलीले भने, नेपालमा कुनै प्रकारका सैनिक राख्न दिँदैनौँ तर नेपालले सबैसँग मित्रता राखेको छ, कसैसँग पनि शत्रुता राखेको छैन ।

अध्यक्ष ओलीले विश्व शान्तिका लागि सबैले काम गर्नुपर्ने उल्लेख गर्दैै थप्नुभयो, विश्वभरि नै शान्ति कायम हुन सकोस, सबै देशको सार्वभौमसत्ताको सम्मान हुन सकोस ।

उनले कुनै पनि हिसाबले युद्धलाई साथ र समर्थन नगर्ने र संसारमै युद्ध अन्त्य गर्नुपर्नेमा जोड दिएका छन् । उनले भने, युद्ध भएका ठाउँमा वार्ताको माध्यमबाट अन्त्य गरिनुपर्छ, सबै देशहरु सार्वभौमसत्ता सम्पन्न भएका छन् ।

नेपालले कूटनीतिक सम्बन्ध बलियोरुपमा अघि बढाउनुपर्ने र पारस्परिक लाभ तथा सम्मानका आधारमा सबैसँग मित्रताको नीतिबाट अगाडि बढ्ने नेपालको परराष्ट्र सम्बन्ध नीति सञ्चालन गर्ने आधार भएको स्पष्ट पारेका छन् ।