गृहमन्त्रीको आदेश प्रहरीले नमानेपछि गृह मन्त्रालयले जारी गर्यो विज्ञप्ति

काठमाडौं । शताब्दी कै प्रतिपक्षी नभएको बलियो प्रचण्ड नेतृत्वको सरकारका उपप्रधान तथा गृह मन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले कर्तव्य ज्यान मुद्दामा तारेख गुजारी फरार रहेका लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न दिएको आदेश नेपाल प्रहरी नटेरेपछि गृह मन्त्रालयले विज्ञप्ति नै जारी गरेको छ ।

कोइरी अहिले नेकपा एमालेका तर्फबाट प्रतिनिधि सभामा सांसदका रुपमा उपस्थित भएपनि प्रहरीले उनलाई पक्राउ गरेको छैन । उनी फरार सूचिमा नै छन् । कोइरीलाई पक्राउ नगरी संसदमा हाजिर गराउने वर्तमान सरकारका गृहमन्त्री विरुद्ध सामाजिक सञ्जालमा विरोध आएपछि गृह मन्त्री लामिछानेले कोइरीलाई पक्राउ गर्न प्रहरीलाई आदेश दिएका थिए ।

तर, गृहमन्त्रीको मौखिक आदेश प्रहरीले अटेर गरेपछि शुक्रबार गृह मन्त्रालयले प्रेस विज्ञप्ति नै जारी गरेको छ गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ , ‘गृहमन्त्रीबाट पटक पटक प्रहरीलाई मौखिक निर्देशन भएकोमा हालसम्म पनि पक्राउ नपरेको प्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ । निज प्रतिवादीलाई कानून बमोजिम पक्राउ गरी तत्काल कारवाही अगाडि बढाउन मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको व्यहोरा अनुरोध छ । ’

यसरी गृह मन्त्रालयले कर्तव्य ज्यान मुद्दामा तारेख गुजारी फरार रहेको व्यक्तिलाई प्रहरीले पक्राउ नगरेको भन्दै विज्ञप्ति जारी गर्नु निकै नै हाँस्यास्पद देखिन्छ । यसले के सन्देश गएको छ भने नेपाल प्रहरीले गृह मन्त्री लामिछानेको निर्देशनलाई स्वीकार गरिरहेको छैन वा लामिछानेलाई गृहमन्त्री बनाउने एमाले अध्यक्ष ओलीले आफ्ना सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ नगर्न प्रहरीलाई आदेश दिएका छन् ।

यसले नेपालको प्रहरी मौखिक आदेशले भन्दा पनि लिखित आदेशबाट मात्र चल्छ भन्ने सन्देश दिन खोजेको हो वा शक्तिमा रहेका व्यक्तिहरु कानून भन्दा माथि छन् भने सन्देश दिन खोजेको हो आशंका पैदा भएको छ ।