प्रोटिनजन्य खानेकुरा उपलब्ध गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री दाहाल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रोटिनयुक्त खानपान उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताए ।

शनिबार काठमाडौंमा आयोजित दोस्रो संस्करणको ‘राइट टु प्रोटिन रन हाफ म्याराथन’ कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहाालले यस्तो बताएको हो । उनले खेल क्षेत्रबाट स्वस्थ र अनुशासित जीवन पद्धतिको विकास हुने समेत बताए ।

प्रधानमन्त्री प्रचण्डले देश अहिले पोल्टी व्यवसायमा आत्मनिर्भर भएको धारणा व्यक्त गदै वनस्पतिजन्य खाद्यान्नमा पनि हामी आत्मनिर्भर हुने र बालबालिकालाई त्यसका लागि आवश्यक पर्ने प्रोटिनको मात्रा उपलब्ध गराउने कुरामा सरकार प्रतिबद्ध रहेको बताए ।

प्रधानमन्त्रीले अहिलेको सरकारले स्वास्थ्यको क्षेत्रमा नयाँ सुरुवात गर्ने तयारी गरेको भन्दै जनताको स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेर केही नीतिगत र व्यवहारिक निर्णय गर्न लागेको जानकारी दिए ।प्रधानमन्त्री दाहालले भने, ‘‘समग्रमा खेल क्षेत्रबाट स्वस्थ र अनुशासित जीवन पद्धतिको विकास गर्नेकुरामा जोड गर्दै आएका छौँ ।

नेपाल सरकारका तर्फबाट भइराखेका प्रयासहरू पर्याप्त छैनन् भन्नेकुरा तथ्य तथ्याङ्कले देखाएको छ । यस्ता कार्यक्रमले एकातिर पशुजन्य खाद्यान्नको विकासको निम्ति व्यवसायलाई उत्प्रेरित गर्छ भने गेडागुडीलगायतका खाद्यपदार्थको विकासमा पनि किसानहरूलाई उत्प्रेरित गर्छ । आत्मनिर्भरताको दिशातिर जानसक्छौँ । यतिबेला हामीले पोल्टी व्यवसायमा झण्डै आत्मनिर्भर भएका छौँ । यो खुसीको कुरा हो ।’’