जनताको आशालाई निराश हुन दिन्न : मन्त्री पाण्डे

काठमाडौँ । सहरी विकासमन्त्री विक्रम पाण्डेले जनताको आशालाई निराश हुन नदिने बताएका छन् । मिडिया नेपाल चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले जनतासँग गरेका वाचा पूरा हुने गरी काम गर्ने बताए ।

सरकारमा सहभागी हुने क्रममा जनताको पक्षमा काम गर्न पार्टीले आफूलाई यो जिम्मेवारी दिएको बताउँदै उहाँले पार्टीले दिएको जिम्मेवारी र जनताको आशा नमर्ने गरी काम गर्ने बताएका छन् । उनले भने, निर्वाचनमा आफूले बोलेका योजना मात्रै होइन ७७ वटै जिल्लामा भइरहेका योजना र गर्नुपर्ने योजना जनताको अपेक्षा अनुसार काम हुन्छ ।

सबै जिल्लामा आफ्नो मन्त्रालयको काम छिटो र फरक तरिकाले हुने उनले बताए । उनले भने, ७७ जिल्लामा भइरहेका र गर्नुपर्ने योजना हेरेर त्यसलाई छिटो भन्दा छिटो, फरक तरिकाले आजसम्म जसरी चलेको थियो त्यो भन्दा पनि फरक तरिकाले चलाउने लक्ष्यसाथ पार्टीले मलाई जिम्मा दिएका हन् ।

आफूले मन्त्रालय सम्हाल्न नपाउँदै स्वार्थ बाँझिने मन्त्रालयको जिम्मा दिएको भनेर टिक्काटिप्पणी भएको भन्दै उनले कुनै स्वार्थ नबाझिने बताए । सिक्टा सिँचाइ योजनामा आफ्नो कम्पनीलाई राजनीतिक उद्देश्यका साथ फसाउन खोजिएको भए पनि अदालतबाट सफाइ पाइसकेको उनले जानकारी दिएका छन् ।

आफूले सञ्चालन गरेका कम्पनीका सबै पदबाट राजीनामा दिइसकेको उनले पत्रकार सम्मेलनमा जानकारी दिए । फरक प्रसङ्गमा बोल्दै उनले पार्टीको अडान सरकारमा रहेपनि नरहे पनि उही रहेको बताए। उनले भने, हाम्रा मुद्दा यथावत रहेका छन् । पार्टीको धारणा रोकिंदैन । यही संविधानभित्र रहेर आफ्ना मुद्दा उठाईने उनले बताएका छन् ।