दाङमा सवारी दुर्घटना, दुई जनाको मृत्यु

दाङ, भदौ । दाङको राप्ती गाउँपालिका–८ पिपरीमा हिजो बेलुकी भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

लमहीबाट भालुवाङतर्फ आउँदै गरेको रा ३ प २०६१ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको लु १९ प ५५०६ नम्बरको मोटरसाइकल हिजो बेलुकी ८ बजे आपसमा ठोक्किएको थियो ।

दुर्घटनामा अनियन्त्रित भएको २०६१ नम्बरको मोटरसाइकललाई पछाडी आउँदै गरेको ना ६ ख ६७७४ नम्बरको ट्रकले समेत ठक्कर दिएको थियो । २०६१ नम्बरका मोटरसाइकलका चालक दाङको लमही नगरपालिका–४ का विनय चौधरी र सोही मोटसाइकलमा पछाडी सवार दाङको घोराही उपमहानगरपालिका–१५ का बालकृष्ण भण्डारीको मृत्यु भएको हो । उनीहरुको उपचारको क्रममा लमही अस्पतालमा मृत्यु भएको दाङ प्रहरीले जनाएको छ ।

घाइते भएका अर्का मोटरसाइकल चालकको स्थानीय पोलिक्लिनिकमा उपचार भइरहेको छ । तीनैओटा सवारी साधन र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।