स्वदेश फर्कनासाथ ओलीको राजनीतिक सक्रियता बढ्यो, दाहालसँग भेट

काठमाडौ‌ँ, भदौ । सिंगापुरमा उपचार गरी स्वदेश फर्किएलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक भेटघाटमा सक्रियता देखाएका छन् । १४ दिने लामो उपचार गरेर शुक्रबार दिउँसो करिब १ बजे स्वदेश फर्किएका ओली र उनका पार्टी नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालबीच बालुवाटारमा छलफल भएको छ ।

छलफलका लागि अध्यक्ष दाहाल स्वयम् ओलीलाई भेट्न बालुवाटार पुगेको र ओलीको स्वास्थ्य अवस्थाबारे विस्तृतमा जानकारी लिएको बुझिएको छ । स्रोतका अनुसार ओली र दाहालबीच केही र राजनीतिक सम्वाद भएपनि त्यो आगामी पार्टी एकता र सचिवालय बैठकको मिति तय गर्ने सम्बन्धमा थियो ।

सिंगापुर जानुअघि ओलीले अध्यक्ष दाहाललाई शक्तिशाली बनाउँदै पार्टीको निर्णयअधिकार सुम्पिएको भएपनि दाहालले योबीचमा ओलीसँग कुनै समन्वय नगर्दा ओलीमा असन्तुष्टि बढेको बुझिएको छ । ओलीले आफ्ना निकट नेताहरु बामदेव गौतम, विष्णु पौडेललाई सिंगापुरमै बोलाएपछि नेकपाभित्र नयाँ समीकरण विकास भएको अड्कलबाजी सुरु भएको छ ।

स्रोतका अनुसार पछिल्लो समय माधवकुमार नेपाललाई अलग्याएर ओली र प्रचन्ड नजिक हुन खोजिएको भनिएपनि प्रचन्डलाई नेतृत्वबाट बन्चित गर्न ओली नेपाल पुनः जुटेको अनुमान समेत गरिएको छ।