राप्रपाका मन्त्रीहरुले गरे मन्त्रीपरिषद्को वैठक बहिष्कार, सरकारबाट नै बाहिरिने की ?

काठमाडौं । सत्ताको स्वाद चाख्न सिद्धान्त विपरित विचार नमिल्ने दलसँग कुम जोडेर हिडेंको राप्रपाले आईतबारको मन्त्रीपरिषद् वैठक बहिष्कार गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आकस्मिक रुपमा बोलाएको सो वैठकमा जनयुद्ध दिवसको एजेण्डा भएकाले वैठक बहिष्कार गरेको राप्रपाले जनाएको छ ।

२०५२ साल फागुन १ गते तत्कालिन नेकपा माओवादीले पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सशस्त्र विद्रोहको शुरु गरेको थियो । आफू प्रधानमन्त्री भएका विगतका नेतृत्वमा जनयुद्ध दिवस माओवादी पार्टीले मात्र मनाउँदै आईरहेको भएपनि यस वर्ष सरकारी रुपमा नै मनाउन प्रचण्ड सफल भएका छन् । प्रचण्डले सरकारी विदा दिन वैठक बोलाएको शंका गर्दै राप्रपाले वैठक बहिष्कार गरेको हो ।
राप्रपाबाट पार्टी अध्यक्ष राजेन्द्र लिङदेन उपप्रधानमन्त्री तथा उर्जामन्त्री छन् भने बिक्रम पाण्डेशहरी विकास मन्त्री , कानुन न्याय तथा संसदीय मामिलामन्त्रीमा ध्रुवबहादुर प्रधान र उर्जा राज्यमन्त्रीमा दीपकबहादुर सिंह मन्त्रिपरिषदमा छन् ।

राजतन्त्रको पक्षमा उभिएको राप्रपाले पुस २७ गतेको सार्वजनिक विदा स्वीकार गरिसकेपछि प्रधानमन्त्रीको इच्छा बमोजिम दिइएको जनयुद्ध दिवसको विरोध गर्ने हो भने राप्रपाले मन्त्रीपरिषद्को वैठक मात्र होइन सरकारबाट नै बाहिर बस्न सक्ने आँट गर्न सक्नु पर्दछ ।