किन बुझाए चित्रबहादुरले प्रचण्डलाई ज्ञापनपत्र

काठमाडौं । राष्ट्रिय जनमोर्चाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई ज्ञापनपत्र बुझाएको छ ।

शुक्रबार बिहान अध्यक्ष चित्रबहादुर केसीसहितका नेताले बालुवाटारमा पुगेर नागरिकका समस्या समाधानको पहल गर्न माग गर्दै ज्ञापन पत्र बुझाएका हुन् ।

महँगी बढेको, लघवित्त र सहकारीबाट नागरिक पीडित बनेको, अराजकता बढेको, विदेशी शक्तिको हस्तक्षेप बढेको लगायतका विषयमा जनमोर्चाले ज्ञापनपत्र बुझाएको हो ।

जनमोर्चाले पछिल्लो अवधिमा बागलुङको गलकोट क्षेत्रमा महिलाहरूका गरगहना लुट्नका लागि ४ जनाको हत्या भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । अन्य जिल्लाहरूमा पनि लुटपाटका घटना भएको भन्दै जनमोर्चाले शान्ति सुव्यवस्थाको माग गरेको थियो ।

ज्ञापन पत्र बुझाउन राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, उपाध्यक्ष दुर्गा पौडेल, महासचिव मनोज भट्ट, कोषाध्यक्ष मधुकुमार क्षेत्री तथा केन्द्रीय सदस्य घनश्याम न्यौपाने प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए ।