देशमा शान्ति सुरक्षा सुदृढ गर्न सरकार प्रतिवद्ध छ  : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा शान्ति सुरक्षा सुदृढ गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ ।

ज्ञापनपत्र बुझाउन आएका राष्ट्रिय जनमोर्चाका नेताहरुसँग बिहीबार बिहान बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री प्रचण्डले यस्तो बताउनु भएको हो ।

उहाँले राष्ट्रियताको रक्षाका निम्ति आफू सधैं अग्रपंक्तिमा रहेको बताउनुभयो । उहाँले बैठकस्थलबाटै नेपाल प्रहरीका महानिरीक्षकसँग सम्पर्क गरी शान्ति सुरक्षाको व्यवस्था गर्न निर्देशन दिनु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री प्रचण्डले आफ्नो राजनीतिक जीवन राष्ट्रियता, जनतन्त्र र जनजीविकाको पक्षमा नै भएको स्मरण गराउँदै संघीयताबाहेक अन्य सबै मुद्दामा आफू जनमोर्चासँगै रहेको बताउनुभयो ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको नेतृत्वमा आएको टोलीले प्रधानमन्त्री दाहाललाई भेटी राष्ट्रियता, संघीयता र जनजीविकाका सवाल समेटेर ज्ञापनपत्र पेश गरेको थियो ।