रुसले युक्रेनमा आक्रमण गरेको एक वर्ष पूरा

काठमाडौँ । रुसले युक्रेनमा आक्रमण गरेको आज शुक्रबार एक वर्ष भएको छ । गत वर्ष फेब्रुअरी २४ मा रुसले युक्रेनमाथि आक्रमण गरेर युद्धको सुरुवात गरेको थियो ।

एक वर्षको अवधिमा दुवैतर्फ गरी हजारौं सैनिक मारिएका छन् भने हजारौं सैनिक घाइते भएका छन् ।

युक्रेनबाट आधा भन्दा बढी मानिस देश छाडेर विभिन्न देशमा पुगेका छन् । युद्धका कारण अहिलेसम्म ८ हजार गैरसैनिक ब्यक्तिहरू मारिएको र १३ हजार बढी घाइते भएको तथ्यांक राष्ट्रसंघीय मानवअधिकार आयोगको छ ।

युद्धका सुरूवाती दिनहरूमा युक्रेनको राजधानी कीभसम्मै पुगेको रुसी सैनिक अहिले दक्षिणपूर्वी युक्रेनको दोनबास क्षेत्रमा अड्डा जमाएर बसेको छ । दोनबास क्षेत्रलाई स्वतन्त्र घोषणा गरेको रुस त्यहाँबाट हट्ने पक्षमा छैन भने युक्रेनले आफ्नो भूमि फिर्ता लिने भन्दै प्रति आक्रमण जारी राखेको छ । तर, पछिल्लो समय युद्ध युक्रेनको हातबाट फुत्किएको विश्लेषण गरिएको छ ।

नाटो र अमेरिकाले अहिले युक्रेनको काँधमा बन्दुक राखेर रुस विरूद्ध युद्ध गरिरहेकाले तत्काल रुस–युक्रेन युद्ध अन्त्य हुने संभावना क्षीण बनेको छ । यसैबीच, राष्ट्रसंघीय साधारणसभाले रुसलाई युद्ध अन्त्य गर्न आह्वान गरेको छ ।

रुस–युक्रेन युद्धको वर्षगाँठको अघिल्लो दिन बिहीबार बसेको राष्ट्रसंघको साधारणसभाले अत्यधिक बहुमतसहित रुसलाई युद्ध अन्त्य गर्न आह्वान गर्दै प्रस्ताव पारित गरेको हो ।

प्रस्तावको पक्षमा १४० देशले मतदान गरेका थिए भने ३२ वटा देश मतदानमा सहभागी भएनन् । रुससहित सात वटा देशले भने प्रस्तावको विपक्षमा मतदान गरेका थिए । एजेन्सी