किन भयो प्रधानमन्त्री दाहालको कतार भ्रमण रद्द

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालको आगामी शुक्रबारदेखि हुने तय भएको कतार भ्रमण रद्द भएसँगै अनेकन चर्चा हुन थालेको छ ।

अतिकम विकसित मुलुकहरूको सम्मेलनमा भाग लिन आगामी शुक्रबार दाहाल कतार जाने सबै तयारी पूरा भएको भएपनि अकस्मात भ्रमण रद्द गरिएको हो । प्रधानमन्त्री दाहालको सचिवालयले अकस्मात भ्रमण रद्द गर्नुलाई देशमा राष्ट्रपतिको निर्वाचन नजिकिएको बहाना बनाएको छ ।

परराष्ट्र मन्त्रालयले आइतबार मात्रै पत्रकार सम्मेलन गरी प्रधानमन्त्री दाहालको कतार भ्रमणको कार्यक्रम सार्वजनिक गरेको थियो । परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री दाहाल फागुन १९ गते शुक्रबार सम्मेलनमा सहभागी हुन कतारको दोहा जाने जानकारी दिएकी थिइन् ।

तर परराष्ट्र मन्त्रालयले भ्रमणको सबै कार्यक्रम सार्वजनिक गरिसकेपछि प्रधानमन्त्री दाहालले भ्रमण रद्द गरेर अर्को कूटनीतिक अपरिपक्कता प्रदर्शन गरेको आरोप लागेको छ।