विश्वकप लिग–२ : नेपालले पीएनजीलाई ३ विकेटले हरायो

काठमाडौँ । विश्वकप लिग–२ मा पपुवा न्यु गिनी(पीएनजी)लाई नेपालले ३ विकेटले हराएको छ ।

शुक्रबार दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पपुवा न्यु गिनीले दिएको १ सय ८० रनको लक्ष्य नेपालले ४८ ओभरमा ७ विकेट गुमाई पूरा गरेको हो ।

नेपालका लागि आसिफ सेखले सर्वाधिक ८६ रन बनाए । त्यस्तै सन्दीप लामिछानेले ३५ रन बनाए ।

आसिफले १३० बलमा २ चौका र १ छक्कासहित ८६ रन बनाएका हुन् । त्यस्तै ५० बल खेलेका सन्दीपले ३ चौकासहित ३५ रन बनाएका हुन् ।

नेपाललाई १०५ र ७ को अवस्थाबाट जित दिलाउन आसिफ शेख र सन्दीप लामिछानेको साझेदारी महत्त्वपूर्ण रह्यो । नेपालले सुरुमै ओपनर कुशल भुर्तेललाई गुमाएको थियो ।

भुर्तेल खेलको दोस्रो इनिङ्सको पहिलो बलमै रोयल डक भएका थिए । कुशल मल्लले भने २३ रन बनाए । नेपालका लागि अन्य ब्याटरले भने दोहोरो अंकमा रन बनाउन सकेनन् ।

पपुवा न्यु गिनीका लागि असद भालाले सर्वाधिक ३ विकेट लिए । त्यस्तै सेमो कामिया र सेसे बाउले समान २र२ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पपुवा न्यु गिनी ४९.२ ओभरमा १ सय ७९ रनमा अलआउट भएको थियो ।

ओपनर टोनी उराले पपुवा न्यु गिनीबाट सर्वाधिक ३९ रन बनाए । उनले ५१ बल खेली २ चौका र १ छक्का प्रहार गरे । अर्का ओपनर किप्लन डोरिगाले २६ रन बनाए । सेसे बाउ र कप्तान असाद भाला समान ११ रनमा आउट भए ।

हिरी हिरीले ३१ रन बनाए । उनले ६३ बल खेल्दै २ चौका र १ छक्का प्रहार गरे । गौडी टिका १५, चाड सोपर र रिलेय हेकुरे समान ९ रनमा आउट भए । नोर्मन भानुआ १४ रनमा आउट भए । दीपेन्द्रसिंह ऐरी र सोमपाल कामीले २–२ विकेट लिए । दीपेन्द्रले १० ओभरमा १ मेडन राख्दै ३० र सोमपालले १० ओभरमा ३९ रन खर्चे । करण केसी, कुशल मल्ल र सन्दीप लामिछानेले १–१ विकेट लिए ।

लिग–२ मा नेपालले पपुवा न्यु गिनीविरुद्ध यसअघि भएका तीन खेल नै जितेको थियो । तीनै खेल दुबईमा भएको थियो । एकदिवसीय अन्तर्राष्ट्रिय जोगाउन नेपालले आफ्नो बाँकी रहेको ५ मध्येको ३ खेल जित्नु पर्नेछ ।

नेपाल ३१ खेलमा ३० अंकसहित सात राष्ट्र सहभागी प्रतियोगितामा छैटौं स्थानमा छ ।