एमाले बाहेक सवै दलहरुले प्रधानमन्त्री दाहाललाई मत दिने संकेत

काठमाडौं । एमाले लगायतका दलसँगको गठवन्धनमा प्रधानमन्त्री बनेका माओवादी अध्यक्ष पुष्पकमल दाहालले सोमबार प्रतिनिधि सभाबाट विश्वासको मत लिने भएका छन् ।
गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएर पुस २६ गते विश्वासको मत लिएका दाहालले ३ महिनाभित्रै दोस्रो पटक विश्वासको मत लिन लागेका हुन् । उनले आज दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठकबाट विश्वासको मत लिने छन् ।

प्रधानमन्त्री बनाउन समर्थन गरेका नेकपा एमाललाई छाडेर कांग्रेससँगै मितेरी लगाउँदै नयाँ सरकार बनाए पछि एमालले समर्थन फिर्ता लिएको थियो । एमालेसँगै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतका दलहरुले समर्थन फिर्ता लिएका कारण दाहालले पुनः विश्वासको मत लिनु परेको हो । दाहाललाई एमाले र राप्रपा बाहेक प्रतिनिधि सभामा रहेका अरु सबै दलले समर्थन गर्ने सम्भावना रहेको छ ।

सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा(, लोकतान्त्रिक समाजवादी (लोसपा), नागरिक उन्मुक्ति, जनमत, राष्ट्रिय जनमोर्चा (राजमो), प्रभु साह नेतृत्वको आम जनता पार्टी र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी गरी कुल १० दलले गत शनिबार नै दाहाललाई समर्थन गर्ने निर्णय गरिसकेका छन् ।

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीेले पनि दाहाललाई समर्थन गर्ने निर्णय गरेको छ । २ सय ७५ सदस्यीय संसदबाट विश्वासको मत पाउन प्रधानमन्त्री दाहाललाई १ सय ३८ मतको आवश्यकता पर्छ ।

ताजा अपडेट