गुणस्तरहिन भिटामिन र क्याल्सिय वितरण बाँढ्दै पाल्पाका स्थानीय तह

पाल्पा । पशु सेवा विभागले न्यून गुणस्तरको पुष्टि गरेका भिटामिन र क्याल्सिय पाल्पाका स्थानीय तहले किसानलाई निःशुल्क वितरण गरेको पाइएको छ । तिनाउ गाउँपालिकाले वितरण गरेको भिटामिन र क्याल्सियम गुणस्तरहीन पाइएको हो । उसले केही महिनाअघि बजार अनुगमन गर्दा शंका लागेपछि प्रयोगशालामा परीक्षण गर्दा न्यून गुणस्तरको पाइएको थियो ।

पशुसेवा विभागले २०७९ फागुन ११ गते पत्र नै पठाएर न्यून गुणस्तर भनिएका सामग्री पाल्पाको तिनाउ–६, डुम्रेस्थित डुम्रे दुग्ध कृषि सहकारी संस्थाका किसानलाई बुधबार वितरण गरिँदै ।
विभागले रिकल (बजारबाट फिर्ता गर्न) निर्देशन दिएका त्यस्ता भिटामिन र क्याल्सियम एग्रोभेटले पालिकालाई बिक्री गरेको किसानले जनाए । तिनाउ गाउँपालिका पशु शाखामार्फत तिनाउ–६, डुम्रेस्थित डुम्रे दुग्ध कृषि सहकारी संस्थामार्फत ७० जना किसानलाई वितरण गरिएको भिटामिन  र क्याल्सियम पशुसेवा विभागले रिकल गर्न सिफारिस गरेमध्येका हुन् । गाउँपालिकाले खरिद गरेको दुर्ई महिनापछि चैत ८ गते किसानलाई वितरण गरेको हो ।

गाउँपालिकाले १ लाख ९० हजारमा भिटामिन, क्याल्सियम र मिनरल खरिद गरेको थियो । गाउँपालिकाले रूपन्देहीको शुद्धोधन, फर्साटिकटरस्थित खनाल भेट सेन्टरबाट खरिद गरेर ल्याएको जनाएको छ । पशुपालन गर्ने पकेट क्षेत्रका लागि भिटामिन, क्याल्सियम र मिनरल्स खरिद गर्न २ लाख बजेट रहेको र सोहीअनुसार कोटेसनमा खरिद गरिएको पशु शाखाका प्रमुख मनीष अधिकारीले बताए । ‘हामीले कोटेसनमार्फत खरिद गरेको हो,’ उनले भने, ‘पशु सेवा विभागको पत्रका विषयमा हामीलाई जानकारी भएन ।’ उनले खनाल भेट सेन्टर, उषा भेट सेन्टर र क्याग्स गरी तीनवटा फर्मको कोटेसन परेको बताए । स्रोतका अनुसार यी तीनवटा एकै घरका हुन् । यसमा क्याग्स सर्जिकल सामग्री बिक्री गर्ने अनुमतिप्राप्त कम्पनी हो ।

‘तीनवटामध्ये न्यून मूल्य खनाल भेट सेन्टरको भएकाले सोही फर्ममार्फत खरिद गरेका हौं,’ शाखा प्रमुख अधिकारीले भने, ‘दुई महिनाअघि नै खरिद गरेर हामीले राखेका थियौं । अहिले मात्र वितरण गरिएको हो ।’ डुम्रे दुग्ध कृषि सहकारीका व्यवस्थापक गोपाल जीसीले नीतिगत कुरा किसानलाई थाहा नहुने बताए ।

 

तिनाउ गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले पशु शाखामार्फत खरिद गर्ने भएकाले गुणस्तरीय हो वा होइन, सोही शाखा जिम्मेवार हुने बताए । प्रमुख प्रशासकीय अधिकृत सुन्दर श्रेष्ठले पशु सेवा विभागले नै पुष्टि गरेको र न्यून गुणस्तरको बिक्री गरेको हो भने ती सबै फिर्ता गर्ने बताए । ‘ब्याच नम्बर मात्र हो वा कम्पनीकै विषय हो बुझ्नु पर्ने हुन्छ,’ उनले भने, ‘यदि कम गुणस्तरको दिएको छ भने सबै फिर्ता गरेर अर्को ल्याउन लगाइनेछ । हामीले किसानलाई न्यून गुणस्तरको सामान दिने कुरा हुन्न ।’

पशुपन्छीको फिड सप्लिमेन्टको गुणस्तर परीक्षण गर्ने कार्यादेश पशु सेवा विभागले पाएको छ । तर, विभागले केही महिनाअघि रूपन्देहीका एग्रोभेटमा पनि बजार अनुगमन गरेको महानिर्देशक डा। सम्झना काफ्ले पाण्डेयले बताइन् । विभागले गरेको अनुगमन र परीक्षणमा गुणस्तरहीन पाइएको हो । विभागका अनुसार यी दुवैमा भिटामिनमा ‘ए’ को मात्रा दाबी गरिएभन्दा कम रहेको पाइएको थियो । यद्यपि, तिनाउमा बिक्री गर्ने शुद्धोधनस्थित खनाल भेट सेन्टरका प्रतिनिधि अर्जुन खनालले भने आयात गरेको कम्पनीको भिटामिन र क्याल्सियम न्यून गुणस्तरको रहेको पशु सेवा विभागको पत्र प्राप्त भएको स्वीकारे । ‘आयातकर्ताका तर्फबाट यसमा जिम्मेवारी मैले लिनुपर्छ,’ उनले भने, ‘मैले जहाँबाट आयात गरेको हो, त्यससँग सम्बन्धित कम्पनीलाई सूचित गरिसकेको छु ।’

पशुसेवा विभागकी महानिर्देशक पाण्डेयका अनुसार रिकल गर्न भनेका कम्पनीको भिटामिन, क्याल्सियमहरू आगामी दिनमा आयातमै सिफारिस नदिइने बताइन् । उनका अनुसार यसरी आयात गर्दा व्यापारीका साथै किसान दुवै ठगिएका छन् । भारतमा रहेका कम्पनीहरूका विषयमा दुई देशबीचको छलफलमा समेत पठाएर समस्या समाधानका लागि पहल गरिने उनले बताइन् । ‘सम्बन्धित स्थानीय प्रशासन र पालिकाले पनि एग्रोभेटहरूमा पुगेर अनुगमन गर्ने र शंका लागेमा प्रमाणसहित विभागमा पठाउन जरुरी छ,’ उनले भने, ‘सबै काम विभागले गर्न नसक्ने भएकाले यसमा स्थानीय तह नै सक्रिय हुनुपर्छ ।’ कतिपय कम्पनीको उत्पादन विगतमा पनि बिक्री वितरणमा समेत रोक लगाइएका छन् । तर, तिनै कम्पनीलाई नेपालमा अनुमति प्रदान गर्दा पनि किसान मारमा परेको उनले बताइन् । कान्तिपुरबाट