घुस मागेको भन्दै पर्साका सहायक वन अधिकृत रामप्रसाद यादव निलम्वित

धनुषा । घुस मागको आरोपमा पर्साका सहायक वन अधिकृत रामप्रसाद यादव निलम्वनमा परेका छन् । उद्योग पर्यटन तथा वन मन्त्रालयले सहायक वन अधिकृत यादवलाई निलम्बन गरी अनुसन्धान थालेको हो । उलने घुस लिएको भिडियो सार्वजनिक भएपछि मन्त्रालयले निलम्बन गरेको हो ।

वन मुद्दामा हिरासतमा रहेका एक अभियुक्तका आफन्तसित घुस लिइरहेको भिडियो प्रमाणको रुपमा फेला परेको वन मन्त्रालयले जनाएको छ । उनलाई मन्त्रालयले ६० दिनका लागि निलम्बन हो ।

सहायक अधिकृत (सातौं तह) यादवले प्रदेश निजामती सेवा ऐन, २०७७ को दफा ८७ ९२० बमोजिमको कसुर गरेको भन्दै सो विषयको छानविन तथा जाँचबुझ कार्यमा झुठा सबुत, प्रमाण संकलन गर्न सक्ने वा आफूविरुद्धको सबूत प्रमाण गायब गर्न सक्ने सम्भावना रहेकाले उनलाई निलम्बन गरिएको पत्रमा उल्लेख छ ।

बाराको परवानीपुर गाउँपालिका वडा नम्बर १ स्थित मुसहरी बस्ने जयनारायण साह विरुद्ध अवैध रुपमा वन पैदावार ओसार पसार मुद्दामा गत फागनु १६ गतेदेखि अधिकृत यादवले अनुसन्धान गरिरहेका थिए ।

चैत ६ गते साह पक्राउ परेपछि मुद्दा मिलाइदिने अन्यथा जेल पठाइदिने धम्की दिँदै झण्डै ४ लाख रुपैयाँ लिइसकेको यादवमाथि आरोप छ । यादवले थप ४० हजार रुपैयाँका लागि बार्गेनिङ गरेपछि प्रतिवादीले भिडियो बनाएर मन्त्रालयलाई उपलब्ध गराएका थिए ।