फेरि चर्किने भो सुकुम्बासी द्वन्द्व, सुकुम्वासी बस्तीमा निरन्तर झडपको संकेत

काठमाडौँ । सुकुम्वासी समस्या समाधान गर्नका लागि ३२ वर्षदेखि प्रयास भएता पनि राजनीतिक नेतृत्व कै कारण समाधान हुन सकिरहेको छैन । सुकुम्वासी समस्या समाधान आयोग कार्यकर्तालाई भर्ति गर्ने केन्द्रका रुपमा मात्र स्थापित बन्यो । त्यसले न सहि सुकुम्वासी पहिचान गर्न सक्यो न त न नदी किनारा अतिक्रमण गरेर बसेकालाई व्यवस्थापन नै ।

तर स्थानीय तहको निर्वाचन पश्चात भने काठमाडौं महागनरभित्रका खोला नदी किनार अतिक्रमण गरेर बसोबास गर्नेहरुका लागि सूचना निकालेरै हट्न बन्यो । सुकुम्वासी हटेनन बरु द्धन्द्ध चर्कियो । अहिले फेरि महानगरपालिकाले अर्को सूचना प्रकाशन गरेर सात दिन भित्र खाली गर्ने भनेको छ ।

एक पछि अर्को सूचना जारी हुने तर नदि किनार खाली चाहिँ नहुने क्रम वर्षौैंदेखि चलिरहेको छ । खोला नदीको किनार मानव वसोबासका लागि होइन । तर काठमाडौंका खोला किनार अतिक्रमणमा परेका छन् । अतिक्रमण हटाउने भन्दा पनि त्यहाँ बस्नेहरुलाई भोट बैंकका रुपमा दलहरुले दुरुपयोग गर्दा समस्या झन झन जटिल बन्दै गएको छ ।

गत शनिबार गोरखापत्रमा सूचना जारी गर्दै महानगरले सात दिन भित्र नदी किनार खाली गर्न भनेको छ । महानगको पत्रलाई काउन्टर दिँदै अव्यवस्थित बसोबासी आन्दोलनमा उत्रिएका छन् । उनीहरुको सन्देश छ– महानगरले कसरी हटाउँदो रहेछ ? हटाओस् त ।

काठमाडौंमा महानगर सुकुम्बासी बस्तीको जग्गा आफ्नो क्षेत्राधिकारभित्र परेको दाबी गर्दै सुकुम्बासी बस्ती खाली गराई सो जग्गाको संरक्षण गर्नुपर्छ भन्ने अडानसहित अगाडि बढिरहेको छ । यसैबीच महानगरपालिले नदी किनार, नदी उकास तथा नदी बहाव क्षेत्रमा बनेका अनधिकृत संरचना एक साताभित्र हटाउन निर्देशन नै दिएको छ ।

शनिबार गोरखा पत्र दैनिकमा एक सूचना प्रकाशित गर्दै महानगरले नदी कोरिडोरको सार्वजनिक क्षेत्रमा संरचना निर्माण गरी भोगचलन गरेकालाई तत्काल संरचना अन्यत्र सार्न सूचित गरेको हो ।

एक साताभित्र अनधिकृत संरचना नहटाएमा प्रचलित कानुन बमोजिम संरचना हटाइने र सो को खर्च सम्बन्धित पक्षसँगै असुल उपर गरिने महानगरद्वारा जारी सूचनामा उल्लेख छ ।

यता महानगरको यो अल्टिमेटमपछि सुकुम्बासीहरुको आन्दोलन झनै चर्किएको छ । महानगरकै विरोधमा संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपालको अगुवाईमा २२ दिनदेखि निरन्तर आन्दोलन चलिरहेको छ । आइतबार पनि उनीहरुले माइतीघरमा विरोध प्रदर्शन गरेका छन् ।

गत मंसीर १२ गते थापाथलीस्थित सुकुम्बासी बस्ती हटाउँन खोज्दा काठमाडौं महानगरको टोली र सुकुम्बासीबीच झडप भएको थियो । झडपमा केही नगर प्रहरी घाइते भएका थिए ।

त्यसपछि नगर प्रहरीले सुुकुम्बासी आन्दोलनका नाइके परिश्रमी, राष्ट्रिय सुुकुम्बासी पार्टीका अध्यक्ष हुकुमबहादुर लामासहित दीपकजंग कुँवर, राजु तामाङ, अनिता थापालगायत २० जनाविरुद्ध किटानी जोहरी दिएका थिए । प्रहरीले उनीहरु मध्ये नारायण परिश्रमी र हुकुमबहादुर लामालाई पक्राउ गरेको थियो । २५ दिन देखि उनीहरु दुबै प्रहरी हिरासत मै छन् ।

उनीहरुको रिहाइको समेत माग गर्दै सुकुम्बासीहरु निरन्तर आन्दोलनरत छन् । प्रहरीले पक्राउ गरेका दुवै जनालाई रिहा नगर्दासम्म प्रदर्शन जारी रहने मोर्चाले जनाएको छ ।

यसअघि अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति र काठमाडौं महानगरपालिकाको टोली बस्ती खाली गराउने सूचना गरेको थियो ।

तर, उक्त सूचनाको वेवास्ता भएपछि महानगरका प्रहरी तीन वटा डोजर लिएर बस्ती हटाउन थापाथलीस्थित सुकुम्बासी बस्ती पुगेका थिए । तर केही सुरक्षाकर्मीसहित पुगेको महानगरको टोलीमाथि सुकुम्बासी बस्तिका स्थानीयले आक्रमण गरेपछि तनाव सिर्जना भएको थियो ।

अहिले फेरि अवस्था उहि देखिएको छ । महानगरपालिकाले सूचना प्रकाशन गरेको छ एक साताभित्र वस्ती खाली गर्न महानगरले उर्दी जारी गरिसकेको छ । दुवै पक्ष आआफ्नो अडानमा छन् । यद्यपी संघ सरकारले भने केही बोल्न चाहिरहेका छैन । यसले सुकुम्वासी बस्तीमा निरन्तर झडपको संकेत गरिरहेको छ ।