कोरोना संक्रमण नियन्त्रण गर्न नाकामा अभियान

नवलपरासी। कोरोना संक्रमण बढ्न थालेपछि पश्चिम नवलपरासीमा नियन्त्रणका लागि पूर्व तयारी स्वरूप अभियान सञ्चालन गरिने भएको छ । सातवटै स्थानीय तहका प्रमुख , स्वास्थ्यकर्मी तथा सरोकारवालाहरूको उपस्थितिमा जिल्ला प्रशासन कार्यालयमा अभियान सञ्चालनका लागि छलफल गरिएको हो ।

अभियान अन्तरगत सीमा क्षेत्रमा उच्च सतर्कता र निगरानीका साथ एन्टिजेन परीक्षण गरिने छ भने सबै स्थानीय तहहरूमा पनि एन्टिजेन परीक्षण गरिने छ । जिल्ला कोभिड नियन्त्रण व्यवस्थापन समितिको परासीमा बसेको बैठकले उच्च सतर्कतासहित एन्टिजेन परीक्षण गर्ने निर्णय गरेको हो ।
भारतलगायत विभिन्न देशमा कोभिड–१९ को नयाँ भेरिएन्ट संक्रमण तीव्र रुपमा फैलिन थालेपछि विशेष गरी सीमा क्षेत्रमा उच्च सतर्कतासहित एन्टिजेन परीक्षणको व्यवस्था गर्न लागिएको समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले जानकारी दिनुभयो । पश्चिम नवलपरासीका विभिन्न नाकाबाट मानिसहरू आवत जावत गर्ने हुँदा यहाँ बढी जोखिम रहने गर्दछ।

नवलपरासी जिल्ला भारतको उत्तर प्रदेश र बिहार प्रदेशसँग सीमा जोडिएकाले सुरुबाटै संक्रमण नियन्त्रणकालागी यसलाई अभियानकै रुपमा अघि बढाउन लागिएको प्रमुख जिल्ला अधिकारी अर्यालको भनाई छ । सीमा क्षेत्र र सबै स्थानीय तहमा आवश्यक जनशक्तिसहित केही दिनमा एन्टिजेन परीक्षण अभियान सञ्चालन गरिने छ । जिल्लामा हाल २ हजार एन्टिजेन टेष्ट किट रहेको र अपुग भएमा मगाउन सकिने स्वास्थ्य कार्यालयका प्रमुख ओम प्रकाश पन्थीले जानकारी दिए । अभियान अन्तर्गत सार्वजनिक यातायात र बढी भिडभाड हुने सरकारी कार्यालय तथा सार्वजनिक स्थानमा मास्क लगाउन र स्यानिटाइजरको प्रयोगलाई अनिवार्य गराइने छ । नेपालमै पहिलो पूर्ण खोप जिल्ला घोषणा भएको नवलपरासीमा संक्रमण फैलिन नदिन उच्च सतर्कता सहितको अभियानलाई प्रभावकारी बनाउन लागिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

पछिल्लो पटक जिल्लामा भने कुनै पनि नयाँ संक्रमित फेला परेका छैनन् । हालसम्म जिल्लामा कोभिड–१९ बाट २सय ९ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । कोभिड–१९ विरुद्ध सञ्चालन गरिएको खोपमध्ये पहिलो र दोस्रो श्रृङखलाको खोप लगाउनेको सङ्ख्या एक सय प्रतिशत छ । त्यसैगरी पहिलो बुस्टर लगाउने ५४ प्रतिशत छ । दोस्रो बुस्टरको रुपमा अहिले सञ्चालन गरिएको बायोभ्यालेन्ट खोप लगाउनेको सङ्ख्या ५ प्रतिशत छ । बायोभ्यालेन्ट खोप जुनसुकै खोप लगाएकाहरूले पनि लगाउन सक्ने छन् भने अहिलेसम्म कुनै पनि खोप नलाएकाहरूले भेरोसेल खोप लगाउन सक्ने छन् । ती दुवै खोप स्थानीय तहहरूमा गएर लगाउन सकिने व्यवस्था मिलाइएको स्वास्थ्य कार्यालयले जनाएको छ ।