संसदमा प्रधानमन्त्री हराएको सूचना

फाईल तस्बिर

काठमाडौँ । नेकपा एमालेका सांसद रघुजी पन्तले संसदमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड हराएको भन्दै सूचना गराएका छन् ।प्रतिनिधिसभा बैठकमा एमाले सांसद पन्तले प्रधानमन्त्री दाहाल अनुपस्थित भएपछि एमाले सांसद पन्तले व्यंग्य गरेका हुन् ।

उनले भने, ‘नागरिकताको नाम पुष्पकमल दाहाल, चलनचल्तीको नाम प्रचण्ड, स्थायी ठेगाना फेरिराख्ने, अस्थायी ठेगाना कहिले खुमलटार कहिले बालुवाटार, हुलीया पहिले पहिले कोट पाइन्ट लगाउने गरेपनि हाल दौरा सुरुवाल र टोपी पनि लगाउने उमेर ६५ नाघेर ७० नपुगेको जस्तो देखिने।’ उनले अन्तिम पटक बालुवाटार छेउछाउ देखिएको भन्दै व्यंग्य गरे ।

उनले सुनाएको सूचना यस्तो छ

‘नागरिकताको नाम : श्री पुष्पकमल दाहाल
चलन चल्तीको नाम : प्रचण्ड
स्थायी ठेगाना : फेरिराख्ने
अस्थायी ठेगाना : कहिले खुमलटार, कहिले बालुवाटार ।

हुलिया : पहिले पहिले कोट पाइन्ट लगाउने गरेपनि हाल दौरासुरुवाल र टोपी लगाउने, उमेर ६५ नाघेको ७० नपुगेको जस्तो देखिने । उहाँ केही दिनअघि प्रतिनिधिसभा बैठकमा झुलुक्क देखिएर हाल संसदमा आउनै छोडेकाले उहाँलाई फेला पार्नुहुने व्यक्तिले संसद भवन नयाँ बानेश्वरमा बुझाइदिनुहोला । उहाँ अन्तिम पटक देखिएको स्थान बालुवाटारको छेउछाऊ ।’