बिस्का जात्राको ८ औं दिन, भक्तपुरवासीले मनाए सगुन जात्रा

काठमाडौँ । बिस्का (बिस्केट) जात्राको ८ औं दिन भक्तपुरवासीले द्यो स्वगं बिएगु पूजा (सगुन जात्रा) मनाएका छन् ।

सोमबार बिहानैदेखि धिमेरबाँसुरी बाजा र भजन खलःहरूले नगरका विभिन्न शक्तिपीठ तथा देवीदेवताहरूको परिक्रमा गरी सगुन जात्रा मनाइएको हो ।

देवीदेवताहरूलाई सगुन पूजा गर्न आ–आफ्नो द्यो छें (देव घर) बाट निकाली चोक तथा डबलीमा राखेर आ–आफ्नो गच्छेअनुसार सगुनका रूपमा रक्सी, अण्डा, माछा, अदुवा, चामल, चिउरा, रोटी, बिस्कुटलगायत परिकार चढाउने गरिन्छ ।

बेलुका सबै देवीदेवताहरूमा भक्तजनले चढाएको सगुन, सम्हेबजी टोलका सबैलाई प्रसाद वितरण गरी बाजागाजासहित आ–आफ्नो मन्दिर लैजाने चलन छ ।