वैशाख ८ देखि भृकुटीमण्डपमा हस्तकला प्रदर्शनी हुने

काठमाडौँ । भृकुटीमण्डपस्थित प्रदर्शनी कक्षमा यही वैशाख ८ देखि १० गतेसम्म अन्तर्राष्ट्रियस्तरको हस्तकला प्रदर्शनी सञ्चालन हुनेभएको छ ।

हिमालयन अन्तर्राष्ट्रिय प्रदर्शनी कम्पनीले आज यहाँ पत्रकार सम्मेलन गरी स्वदेशी तथा विदेशी क्रेतालाई नेपाली उत्पादनप्रति आकर्षित गराउन, नेपालको हस्तकला र स्थानीय उत्पादनलाई विश्व बजारमा चिनाउन, नेपाली उद्योगी–व्यवसायीको मनोबल बढाउन र निर्यात प्रवद्र्धन तथा अर्थतन्त्र सुधारका पक्षमा योगदान पु¥याउन महोत्सवका रूपमा प्रदर्शनी आयोजना गर्न लागिएको जनाएको छ ।

१ लाखभन्दा बढी आगन्तुकले अवलोकन गर्ने अपेक्षा गरिएको ३ दिने सो प्रदर्शनीमा १ सय ७६ व्यापारिक कक्ष रहने छ । पश्मिना, गलैँचा, कार्पेट, काष्ट एवं मूर्तिकला, गरगहना, जडिबुटी, सजावट तथा पर्यटन उद्योगसँग सम्बन्धित सामग्री प्रदर्शनीमा राखिने आयोजक कम्पनीका अध्यक्ष कपिल अधिकारीले जानकारी दिए ।