ए डिभिजन लिग : चर्च ब्वाइज र थ्री स्टारबीचको खेल बराबरी

काठमाडौँ । स्टार खेलाडीले भरिएको चर्च व्वाईज क्लबले राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिगमा थ्री स्टार क्लबसँग बराबरी भएको छ । खेलमा फ्रेण्ड्स क्लबले हिमालयन शेर्पालाई ६–० को फराकिलो अन्तरले पराजित गरेको छ ।

सोमबार च्यासल मैदानमा सम्पन्न भएको खेलमा चर्च ब्वाईज र थ्री स्टारले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् । चर्च ब्वाईजले शीर्ष स्थानको जावलाखेल युथ क्लबसँग अंक बराबरी गर्ने मौका गुमाएको छ ।

प्रतिष्पर्धात्मक बनेको खेलमा दुवै टोलीले निर्धारित ९० मिनेटको खेलमा राम्रा अवसर पाएका थिए । दुवै टोलीका स्ट्राइकरले अवसरलाई सदुपयोग गर्न सकेनन् । शुरुवात बलमा पकड र आक्रामक खेल पस्किएपनि चर्च ब्वाइज गोल निकाल्न असफल भएको थियो ।

खेलको चौथो मिनेटमा गगनदीप सिंहको लामो प्रहार थ्री स्टारका गोलकिपर मोहमद ताहाले पन्च गर्दै बाहिर पठाएपछि चर्च ब्वाईजको पहिलो अवसर खेर गएको थियो ।

खेलको ३६ औं मिनेटमा चर्च ब्वाइजका आशिष चापागाईले गोलको अवसर गुमाए । थ्री स्टारका पिटर सेगुनबाट बल खोसेर वान भर्सेस वानमा प्रहार गरेको बल पोस्टको नजिकैबाट बाहिरिएको थियो ।

खेलको ७६ औं मिनेटमा चर्च ब्वाइजका मिलन राईको सशक्त प्रहार थ्री स्टारका गोलकिपर मोहमद ताहाले बचाए । यस बराबरीसँगै थ्री स्टारले ९ खेलमा १५ अंक जोडेको छ । चर्च ब्वाइजले १५ अंक जोडेको छ ।

जावलाखेल युथ क्लब १७ अंकका साथ तालिकाको शीर्ष स्थानमा अटाउँदा सातदोबाटो युथ क्लव समान अंक भएपनि गोल अन्तरले पछि दोस्रो स्थानमा छ ।