फोहोर फाल्ने ठाउँबाट नक्कली नोट बरामद

सर्लाही । मङ्गलबार बिहान सर्लाहीको लालबन्दीबाट ठूलो परिमाणमा नक्कली नोट बरामद भएको छ । लालबन्दी नगरपालिका –७, बजारस्थित पुरानो गोल्डेन फ्यूचर आवासीय विद्यालय रहेको भवनको पछाडिपट्टी फोहोर फाल्ने ठाउँमा फ्याँकिएको अवस्थामा नक्कली नोट बरामद भएको हो ।

एक हजारका ५ सय ३० वटा नक्कली नोट बरामद भएको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी नायब उपरीक्षक शान्ताराम कार्कीले जानकारी दिए ।

ती नक्कली नोटसँगै १ हजार दरको नोट आकारकै पाँच सय भन्दा बढी ‘फोटोकपी पेपर’ समेत बरामद भएको प्रहरी नायब उपरीक्षक कार्कीले बताए । नक्कली नोट बनाउने कार्यमा संलग्न व्यक्तिले बजारमा ती नोट प्रयोग गर्न नसकेपछि फोहोर फाल्ने ठाउँमा ल्याएर फालेको हुनसक्ने आशङ्का गरिएको छ ।

लालबन्दी नगरपालिका–७ का वडाध्यक्ष कृष्णबहादुर कार्कीले मङ्गलबार बिहान नक्कली नोट फेला परेको स्थानमा आफू पनि पुगेको र स्थानीय तथा व्यापारीलाई नक्कली नोटको कारोबारीबाट सचेत रहन आग्रह गरेको बताए ।