५५ अर्ब रकमलाई उद्योगमा परिचालन गरौं : सांसद पौडेल

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले बैंकमा जम्मा भएर बसेका रकमलाई उद्योगमा लगानी गरी रोजगारी सिर्जना गर्न माग गरेका छन् ।

मंगलबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद पौडेलले बैंकमा ५५ अर्ब रुपैयाँ जम्मा भएको समाचार सार्वजनिक भएको उल्लेख गर्दै सो रकम देशका रुग्ण उद्योगहरुमा परिचालन गर्नुपर्ने बताएका छन् ।

उनले अफठ्यारमा परेका उद्योगहरुमा उक्त रकम परिचालन गरी रोजगारी सिर्जना गर्न माग गरे । त्यस्तै, उनले देशमा ४० लाख खोप प्रयोगबिहीन अवस्थामा रहेको भन्दै प्रयोगबिहीन भएको सम्बन्धमा सम्बन्धित निकायले छानबिन गर्नुपर्ने बताए ।