बिचौलियाबाट हुने सबै कामलाई शून्यमा झारिने : गृहमन्त्री श्रेष्ठ

काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले बिचौलियाबाट हुने सबै कामलाई शून्यमा झारिने बताएका छन् । उनले गृह प्रशासन र प्रहरीलाई राजनीतिक तथा शक्ति केन्द्रबाट मुक्त गर्ने आफ्नो अभियान रहेको बताए ।

गृह मन्त्रालयमा आज पत्रकारसँगको परिचयात्मक भेटघाटका क्रममा उनले राजनीतिलाई सफा गरी कसरी मुलुकको परिवर्तन गर्न सकिन्छ भन्ने विषयमा आफू गम्भीर रहेको बताए । उनले गृह प्रशासनको सुधार तथा सुशासन र सेवा प्रवाहमा कुनै सम्झौता नहुने बताए ।

गृहमन्त्री श्रेष्ठले सुरक्षाको सुदृढीकरण, राष्ट्रिय एकता, जनयुद्ध र जनआन्दोलनको उपलब्धिलाई संस्थागत गर्दै संविधानको रक्षा, शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्दै सङ्क्रमणकालीन न्यायका कार्यभार पूरा गर्नु र मुलुकलाई रूपान्तरितसहितको आर्थिक विकासमा अघि बढाउने आफ्नो मुख्य कार्यभार रहेको बताए ।

राष्ट्र र जनताका निम्ति प्रहरी प्रशासन रहेको स्मरण गर्दै उहाँले गृह प्रशासनमाथिको पहुँचमा परिवर्तन ल्याउँदै पहुँच नपुगेकाका हितमा काम गर्ने विश्वास व्यक्त गर्नुभयो । राष्ट्रिय सुरक्षामा कुनै पनि प्रकारको गतिविधि गर्न नदिने उनले प्रतिबद्धता पनि जनाए ।

“सहज र सरल ढङ्गले जनताले सेवा पाउनुपर्छ, भोलि आऊ भनेर नागरिकलाई दुःख दिने काम अब चल्दैन”, गृहमन्त्री श्रेष्ठले भने, “अब यसमा गम्भीर हुनुपर्छ, त्यसका लागि कर्मचारीलाई प्रशिक्षण दिइने छ र अभाव भएको ठाउँमा जनशक्ति थपिनेछ ।”

राष्ट्रिय परिचयपत्रको उपादेयतालाई पुष्टि हुने गरी काम गर्नुपर्नेमा जोड दिँदै गृहमन्त्री श्रेष्ठले नागरिकतालाई सहज र छिटो बनाउने विषय आफ्नो प्राथमिकतामा रहेको बताउदै नागरिकताका कतिपय सवालमा राष्ट्रिय सहमति जुटाउने पहल भइरहेको पनि बताए । उनले पीडितको नाममा फाइदा उठाउनेप्रति सजग हुन पनि आग्रह गरे ।

मिटरब्याजसम्बन्धी समस्या समाधानका लागि आवश्यक कानून संशोधनको प्रक्रियामा गइसकेको र आयोगले काम थालिसकेकाले जसरी पनि पीडितलाई मिटरब्याजीको शोषणबाट अन्त्य गरेरै छाड्ने उनले विश्वास दिलाए ।