काठमाडौँ । प्रत्येक वर्ष वैशाखकृष्ण चतुर्दशीदेखि राजधानीको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर क्षेत्रमा मनाइने कान्तिभैरव जात्राका लागि सम्पूर्ण तयारी पूरा भएको छ ।
वैशाख कृष्ण चतुर्दशीका दिन बिहान स्थानीयवासीले आ–आफ्ना घरआँगनमा सरसफाइ गरेपछि मध्यरातमा कान्तिभैरवको जात्रा सुरु गरिने परम्परा छ । चतुर्दशीका दिन स्थानीयवासीले आफ्नो टोल र छरछिमेकमा सफाइ गरेपछि मध्यरातदेखि वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीयाका दिनसम्म कान्तिभैरवको मुख्य जात्रा सुरु हुन्छ । कान्तिभैरवकै नामबाट कान्तिपुर नामकरण भएको विश्वास गरिन्छ ।
जात्राका लागि गोकर्णेश्वर क्षेत्रलाई बेहुलीझैँ सिँगारिएको छ । जात्राको सबै तयारी पूरा भएको गोकर्णेश्वर नगरपालिका–४ का अध्यक्ष जयराम महतले राससलाई जानकारी दिए । जात्राका लागि विगतदेखि नै नगरपालिकाले पनि सहयोग गर्र्दै आएको उनले सुनाए ।
जात्राका लागि वडा कार्यालयले वैशाख ६ देखि १० गतेसम्म कहाँ कहाँ रथ लैजाने र के के जात्रा कुन समयमा गर्ने भनी तालिका नै सार्वजनिक गरेको छ । यसबाट भक्तजनलाई सहज हुने विश्वास गरिएको छ ।
जात्राका क्रममा वैशाखकृष्ण आमावास्याका दिन स्थानीय डबलीमा आमाछोरी र सासूबुहारीले संयुुक्तरुपमा सहभागी भएर सिन्दूर जात्रा हेर्नुपर्दछ भन्ने जनविश्वास छ । यसलाई कान्तिभैरवको सिन्दूर जात्रा पनि भन्ने गरिएको स्थानीयवासी एवं साबिकको गोकर्णेश्वर गाविसका पूर्वउपाध्यक्ष राधाकृष्ण श्रेष्ठले बताए ।
“यस दिन प्रत्येक व्यक्तिका लागि आमाप्रति श्रद्धा र भक्तिसाथ सम्मान प्रकट गरी मीठो मसिनो खुवाउने दिन भएकाले कान्तिभैरव जात्रालाई पनि आमाप्रतिको सम्मानकै रुपमा लिन्छौँ”, कान्तिभैरवको गुठियारसमेत रहेका उनले भने।
चतुर्दशीका दिन बिहान आज गुठियार थकालीले तामाको सानो गणेश मूर्तिलाई ढक्कीमा राखी गुप्तीगणेशमा लगी राखेका छन् । गुप्तीगणेशलाई आज दिनभर स्थानीयवासीले पूजा गर्दछन् । साँझमा गणेशको मूर्तिलाई परम्परागत बाजागाजासहित रथारोहण गरी गोकर्णेश्वरको ऐतिहासिक पुरानो बस्ती गोकर्ण देशेको बीचमा लगी बिसाइन्छ ।
यसपछि गोकर्ण देशेको मन्दिरबाट भैरवको मूर्ति निकालिन्छ । निकालिएको मूर्तिलाई गुठियारका थकालीबाट बलि चढाई पूजा गरिन्छ । स्वर्णमय झण्डा र गजुरसहितको सिंहासनलाई तीनपटक मन्दिरको परिक्रमा गराइन्छ । सिँगारिएको तीनतले रथमा भैरवको मूर्तिलाई आरोहण गराइन्छ । यस अवसरमा बाजा बजाई हर्षबढाइँ गरिन्छ र रथलाई गोकर्णेश्वर क्षेत्रका टोलटोलमा घुमाइन्छ ।
भातको देवता अर्थात् भाते द्यौलाई कान्ति भैरवको सौगात मानिन्छ । पाक्ता पाक्तैको भातलाई झिकेर गुठियार थकालीले भातको मूर्ति बनाउनुपर्ने धार्मिक विधि छ । भातको अग्लो मूर्तिलाई दुईजनाले बोकेर तुलजा भवानीको मन्दिरमा लैजाने परम्परा रहेको स्थानीयवासीले बताए ।
Add Comment