कुवेतमाथि युएईको १४३ रनको सानदार जित

काठमाडौँ । एसीसी प्रिमियर कप क्रिकेटमा संयुक्त अरब इमिरेट्स (युएई) ले कुवेतमाथि सानदार जित निकालेको छ । समूह ‘बी’ मा रहेको युएईले सानदार सुरुवात गरेको हो ।

बुधबार त्रिवि मैदान कीर्तिपुरमा भएको खेलमा युएईले कुवेतलाई १ सय ४३ रनले हरायो । जितका लागि युएईले दिएको ३ सय ७२ रनको विजयी लक्ष्य पछ्याएको कुवेत ३६.३ ओभरमा सवै विकेटको क्षतिमा २ सय २८ रनमा समेटिएको थियो ।

कुवेतका लागि सायद मोनिबले ६८ रन बनाए । प्रविन्दर कुमारले ५३ र कप्तान मोहम्मद अस्लामले ३३ रन बनाए । बलिङमा युएईका जुनेद सिद्धिकी र कार्तिक मैयप्पनले तीन तीन विकेट लिए । जाहोर खान, रोहन मुस्ताफा, सचित शर्मा र आयान खानले एक एक विकेट झारे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा तीन सय ७१ रन बनाएको थियो ।

अरविन्दले एक सय ८५ र मुस्ताफाले एक सय १८ रन बनाए । मुस्ताफा र अरविन्दबीच चौथो विकेटका लागि दुर्य सय ७५ रनको विशाल साझेदारी गरेका हुन् ।

बलिङमा कुवेतका प्रविन्दर कुमार र शाहरुख कुदरुसले दुई दुई विकेट लिए । सयद मनिब र यासिन पटेलले एक एक विकेट लिए । जितसँगै युएईले समूहमा दुई अंक बनाएको छ । कुवेतले हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।

यस्तै समूह ‘बी’ मा युएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन छन् । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । शीर्ष तीनमा पर्ने टोलीले आगामी जुलाईमा आयोजना हुने एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछ ।