बेपत्ता आरोहीको जीवितै उद्धार

म्याग्दी । म्याग्दीस्थित अन्नपूर्ण हिमालको दोस्रो आधार शिविरबाट बेपत्ता भएका १ जना आरोहीको ४ दिनपछि जीवितै उद्धार गरिएको छ ।

भारतको राजस्थानको किशनगढका ३४ वर्षीय अनुराग मालु आज बिहान अन्नपूर्ण हिमालको दोस्रो आधार शिविरमा भेटिएको हो । सोमबारदेखि बेपत्ता मालुलाई प्रभु एयरको हेलिकप्टरले बिहान १०ः३० बजे ७ हजार ५०० मिटरको उचाइबाट जीवितै उद्धार गरेको सेभेन समिट टे«कका प्रबन्धक थानेश्वर गुरागाईले जानकारी दिए।

“हेलिकप्टरले अन्नपूर्ण हिमालबाट पोखराको मणिपाल शिक्षण अस्पतालमा लगेर उपचार थालिएको छ”, उनले भने। परिवारका सदस्यका अनुसार मालुको अवस्था गम्भीर छ । मालु सेभेन समिट टे«कमार्फत आरोहणमा गएका थिए । आरोहण सफल नभएपछि आधार शिविर फर्कने क्रममा मालु बेपत्ता भएको थियो ।

अन्नपूर्ण हिमालबाट यसअघि मङ्गलबार भारतीय आरोही २७ वर्षीय बलजीत कौरको पनि जीवितकै उद्धार गरिएको थियो । काठमाडौँ लगिएकी कौरको अवस्था सामान्य रहेको टे«किङ कम्पनी पायोनियर एडभेन्चरले जनाएको छ ।

अन्नपूर्ण आरोहण गरेर फर्कंने क्रममा कटल्याडका आरोही नोयल हान्नाको मङ्गलबार मृत्यु भएको थियो । हान्न सेभेन समिट टे«कबाट अन्नपूर्ण हिमाल आरोहणमा गएका थिए ।

आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं ४ नारच्याङको भूगोलमा अवस्थित छ । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालमा शनिबारदेखि चालु वर्षको वसन्त ऋतुको आरोहण सुरु भएको थियो ।