उदीपुरखण्ड दैनिक १२ घण्टा बन्द

काठमाडौँ । डुम्रे बेँसीसहर सडक अन्तर्गत बेँसीसहर नगरपालिका–१ स्थित उदीपुरखण्ड दैनिक १२ घण्टा बन्द गरिएको छ । उक्त सडक खण्डको देउराली डाँडामा सडक मर्मत का लागि आजदेखि एक महिनासम्म लागि दैनिक १२ घण्टा बन्द गरिएको हो ।

डुम्रे बेँसीसहर चामे सडकका इन्जिनियर पुरुषोत्तम अधिकारीले भने, “ सडक मर्मत गर्नका लागि आगामी जेठको पहिलो हप्तासम्म सडक बन्द गर्न लागेका छौँ ।” सडक निर्माण अन्तर्गत स्लोप ट्रमिङ र टेवा पर्खाल निर्माण हुने भएको छ । सोही अवधिमा यात्रुवाहक सवारी साधनलाई उदीपुर रिठ्ठेबगर जोड्ने बाटो हुँदै चण्डीप्रसाद गण डाइभर्सन सडक प्रयोगमा ल्याइनेछ भने मालवाहक सवारी भने उदीपुर बजारमै पूर्ण रुपमा रोक लगाइएको उनको भनाइ छ ।

यहाँ दुई वर्षदेखि निरन्तर पहिराका कारण अस्थायी रुपमा सडक व्यवस्थापन गर्दै आए पनि दैनिकजसो सुक्खा पहिराले पटक पटक सडक अवरुद्ध हुने मात्र नभई ज्यानै जोखिममा रहँदै यात्रुहरु यात्रा गर्न बाध्य हुँदै आएको थियो । उदिपुरमा पहिराले सडक भत्किएसँगै विसं २०७८ भदौदेखि नै यात्रुहरुले सास्ती भोक्दै आएका छन् ।