नेपालद्वारा ओमानलाई ३ सय ११ रनको चुनौतीपूर्ण लक्ष्य

काठमाडौँ । एसीसी प्रिमियर कपको दोस्रो खेलमा नेपालले ओमानलाई जितको लागि ३ सय ११ रनको लक्ष्य दिएको छ । नेपालले ओडिआईमा पहिलो पटक ३ सय रनको स्कोर पूरा गरेको हो । यसअघि गत मार्चमा लिग टुमा पपुवा न्युगिनी विरुद्ध २ सय ९७ रन बनाएको थियो ।

कीर्तिपुरस्थित टीयू मैदान टस हारेर पहिले ब्याटिङ गरेको नेपालले कुशलको १ सय ८ र सोमपालको रन मद्दतमा निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३ सय १० रन बनाएको हो ।

१९ वर्षीय कुशलले नेपालका लागि सबैभन्दा छिटो ओडिआई शतक प्रहार गर्ने कीर्तिमान पनि बनाए । उनले ५९ बलमा ९ चौका र ९ छक्का प्रहार गर्दै शतक पूरा गरेका थिए ।

कुशल ओडिआईमा नेपालका लागि शतक प्रहार गर्ने छैटौं खेलाडी समेत बने । यसअघि नेपालका लागि पूर्व कप्तान पारस खड्का, दीपेन्द्र सिंह ऐरी, रोहित पौडेल, कुशल भुर्तेल र आसिफ शेखले शतक प्रहार गरिसकेका छन् ।

सन् २०२० मा क्रिकेट विश्वकप लिग टु अन्तर्गत कीर्तिपुरमै अमेरिका विरुद्ध डेब्यु गरेका कुशल मल्लले २१औं खेलमा आएर पहिलो शतक प्रहार गरे । उनी नेपालका लागि ओडिआईमा सर्वाधिक रन बनाउनेमा सातौं स्थानमा छन् ।

घरेलु मैदानमा नेपालले ब्याटिङमा खराब सुरुवात गरेको थियो । पहिलो चार ओभरमा कुनै रन जोड्न नसकेको नेपालले २८औ बलमा रनको खाता खोलेको थियो । ओपनरद्वय आसिफ शेख र कुशल भुर्तेल शुन्यमा आउट हुँदा नेपालले रन जोडेकै थिएन ।

आसिफलाई कलिमुल्लाहको चौथो ओभरमा बोल्ड गरे । कुशल भुर्तेल तेस्रो ओभरमा बिलाल खानले एलबीडब्लु धरापमा परे । भिम शार्की र कप्तान रोहित पौडेलले अर्धशतकिसय साझेदारी गर्दै नेपालको इनिङ्स सम्हालेका थिए ।

रोहित ३४ बलमा २३ रन बनाएर १८औं ओभरमा आउट भए । त्यसपछि भिम पनि २०औं ओभरमा आउट भए । भिमले ५६ बलमा ३३ रन योगदान गरे ।

भिम र रोहित आउट भएपछि आरिफ शेख र कुशल मल्लले नेपालको इनिङ्स अघि बढाए । आरिफ र शकुशल मल्ले पाँचौ विकेटका लागि ७५ रनको साझेदारी गरे । आरिफले ४३ बलमा २९ रन बनाए ।

कुशलले मल्लले ६४ बल खेल्दै ९ चौका र १० छक्का मदतमा १ सय ८ रन बनाए । दीपेन्द्र सिंह ऐरी ७ र सन्दीप लामिछाने ८ रनमा आउट भए ।

सोमपाल र करण केसीले नवौँ विकेटका लागि अविजित ६१ रनको साझेदारी गरे । सोमपालले ४८ बल खेल्दै ९ चौका मदतमा अविजित ६३ रन बनाए । करणले १५ बलमा २ चौका र १ छक्का मदतमा अविजित २९ रन बनाए ।