सुडान द्वन्द्वः युद्धविरामका लागि बढ्दो बाह्य दबाब

काठमाडौँ । सुडानको राजधानी खार्तुममा गत शनिबारदेखि जारी विद्रोही अर्धसैनिक बल ¥यापिड सपोर्ट फोर्स (आरएसएफ) र सरकारी सेनाबीचको झडपमा करिब तीन सय जनाले ज्यान गुमाएपछि युद्धविरामका लागि अन्तरराष्ट्रिय समुदायले कूटनीतिक दबाब बढाएको हो ।

संयुक्त राष्ट्रसङ्घ, अमेरिकालगायत अन्य देशले मुस्लिम समुदायको चाड इद उल फित्रका अवसरमा तीन दिने युद्धविरामका लागि दबाब दिइरहेका छन् । आरएसएफले मानवीय आधारमा ७२ घण्टाको युद्धविराममा सहमति जनाएको छ तर सेनाका तर्फबाट कुनै प्रतिक्रिया आएको छैन ।

राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसबाट भएको युद्धविरामको आह्वानले अस्थायी युद्धविरामको आशा गरिएको छ । बेलायत, युरोपेली सङ्घ, रुस र चीनले पनि तत्काल युद्ध अन्त्यको आह्वान गरेका छन् ।

आज बिहानैदेखि युद्धविराम लागू गर्ने आरएसएफले बताएको छ तर राजधानी खार्तुममा गोली र विष्फोटका आवाज बन्द भएका छैन । यसअघि दुई पटक गरिएको युद्धविरामको प्रयास सफल हुन सकेन ।

सुडानका सेना प्रमुख अब्देल फताह अल बुरहान र उनका सहायक मोहमद हमदान डगालो नेतृत्वको अर्धसैनिक बललाई सरकारी सेनामा समाहित गर्ने गत वर्ष बुहारन र डगालोबीचको सहमति कार्यान्वयन नहुँदा युद्ध चर्केको हो । सेनाप्रमुख बुहारनले आरएसएफसँगको वार्ताको सम्भावनालाई अस्वीकार गरेका छन् ।

राष्ट्रसङ्का अनुसार युद्धको विभिषिकाबाट बच्न करिब २० हजार सुडानी छिमेकी चाडतर्फ पलायन भएका छन् । यसरी आफ्नो थातथलो छाडेर भाग्नेमा महिला र बालबालिका छन् ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले द्वन्द्वरत दुवै पक्षलाई कम्तीमा आगामी आइतबारसम्म युद्धविराम गर्न आह्वान गरेका छन् । साथै उनले सुडानमा कार्यरत कूटनीतिक कर्मचारी र सहायताकर्मी सुरक्षा सुनिश्चित गर्न आग्रह गरेका छन् ।

सुडानामा नागरिक शासन कसरी पुनःस्थपान गर्ने भन्नेमा उत्पन्न मतभेद नै यो भीषण युद्धको कारण बनेको छ । आरएसएफले देशका सम्भ्रान्त वर्गविरुद्ध सीमान्तकृत समूहको प्रतिनिधित्व हुनुपर्ने माग गरेको छ भने आरएसएफका सेनालाई जातीय सफाया गरेको आरोप बुरहान समूहले लगाएको छ ।

यसैबीच, करिब एक साताअघि देशमा द्वन्द्व शुरु भएपछिको पहिलो भाषण्मा सेनाप्रमुख बुरहानले नागरिक नेतृत्वको सरकारका लागि आफू प्रतिबद्ध रहेको बताएका छन् । आफ्नो सेना विजयी हुने र त्यसले सुरक्षित रुपमा नागरिक शासन बहाली गराउने उनले वाचा पनि गरेका छन् । रासस