नक्कली नोटसहित महिला पक्राउ

काठमाडौँ । धनुषा प्रहरीले सात लाखभन्दा बढीको नक्कली नोटसहित १ जना महिलालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

धनुषाको विदेह नगरपालिका–६ की अनुकुमारी साहलाई ७ लाख ७१ हजार ५ सय बराबरको नक्कली नोटसहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको हो ।

साहीको साथबाट १ हजारको नक्कली नोट ४ सय ९२ थान र पाँच सयको नक्कली नोट ५ सय ५९ थान बरामद गरिएको छ। जनकपुरधामस्थित जिरोमाइलबाट खटिएको गस्ती टोलीले २५ वर्षीया अनुकुमारीको झोला तलासी गर्दा नक्कली नोट बरामद गरेको हो ।

महिलाले कालो रङ्गको झोला बोकेर यताउति हिँड्दै गरेको देखेपछि प्रहरीले चेकजाँच गर्दा नक्कली नोट बरामद गरेको हो । प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले ति महिलाको खल्तीबाट नेपाली १० हजार ५ सय, भारतीय १ सय ६० समेत बरामद गरेको बताए ।

उनले उक्त नक्कली नोट एक लाख बराबर सात लाख सटही गरी ल्याएको निज महिलाले सोधपुछका क्रममा बोलेको पनि बताए । ति महिलासँगको सोधपुछपछि थप संलग्नता रहेकाहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।