नेप्से सूचक १७ अंकले बढ्यो

काठमाडा । लगातारको गिरावटपछि मंगलबार भने नेप्से परिसूचक १७ अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से सूचक १७.३६ अंकले बढ्दै १९ सय ५.६८ अंकको विन्दुमा उक्लिएको हो ।

अघिल्लो कारोबार दिन ७५ करोडको शेयर कारोबार भएको बजारमा आज २६४ स्टकको २७ हजार ७६६ पटकको कारोबारमा ८८ करोड ५५ लाख ७८ हजार रुपैयाँ बराबरको २७ लाख कित्ता शेयर बिक्री भएको छ।

कारोबारका आधारमा शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ७ करोडभन्दा बढीको शेयर बिक्री भएको छ। त्यसैगरी, कालिञ्चोक दर्शनको ३ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

१३ उपसमूहमध्ये म्युचुअल फण्ड उपसमूह बाहेक अरु सबै उपसमूहको परिसूचक बढेको छ। होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक १.९२ प्रतिशत बढेको छ। म्युचुअल फण्डको उपसूचक भने आज झिनो (०.०९ प्रतिशत) अंकले घटेको छ ।