सदनमा जानकारी गराए ढाकाकुमारको पद रिक्त भएको सूचना

काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा बैठकमा सांसद ढाकाकुमार श्रेष्ठको सांसद पद रिक्त भएको जानकारी गराएका छन् ।

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठकले पार्टीको साधारण सदस्यबाट निष्कासन गर्ने निर्णय गरेको राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३४ को उपदफा १ बमोजिम संघीय संसद् सचिवालयमा सूचना दिएको जानकारी गराका हुन् ।

सोही ऐनको दफा ३५ बमोजिम सभालाई जानकारी गराएका छन् । सोही ऐनको दफा ३६ बमोजिम प्रतिनिधि सभाको उक्त स्थान रिक्त रहेको जानकारी गराएका छन् ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग २ करोड मागेको अडियो सार्वजनिक भएपछि रास्वपाले श्रेष्ठलाई गत चैत ३० गते पार्टीको साधारण सदस्यबाट निष्कासन गरेको थियो ।

वैशाख ३ गते राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद श्रेष्ठलाई निष्कासन गरेको पत्र संसद सचिवालयलाई दिएको थियो।

तर संसद सचिवालयले थप कागजात मागेको थियो। राष्ट्रिय स्वतन्त्र पार्टीले वैशाख ८ गते श्रेष्ठलाई सोधिएको स्पष्टीकरण, सांसद श्रेष्ठले दिएको स्पष्टीकरणको प्रतिलिपी, पार्टीको केन्द्रीय समितिको निर्णयको विवरण संसद सचिवालयमा बुझाएको थियो।

संसद सचिवालयले विवरण बुझाएपछि सभामुख घिमिरेले सांसद श्रेष्ठलाई निष्कासन गरिएको सूचना प्रतिनिधि सभामा सुनाएका हुन्।