काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आर्थिक अनुशासन कायम गर्नका लागि राज्यका सबै निकाय, क्षेत्र उत्तिकै जिम्मेवार बन्नुपर्ने बताए ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज भएको महालेखा परीक्षकको ६० औँ वार्षिक प्रतिवेदन २०७९ सम्बन्धी प्रस्तुतीकरणमा प्रधानमन्त्री दाहालले महालेखा परीक्षकको प्रतिवेदनले उठाएका विषयलाई पूर्णरुपमा कार्यान्वयन गर्नुपर्ने बताए ।
महालेखा परीक्षकको ६० औँ वार्षिक प्रतिवेदन २०७९ ले औँल्याएका विषयमा महालेखा परीक्षक टङ्कमणि शर्मा दङ्गालले प्रस्तुतीकरण गरेको थियो । उनले बेरुजु फछ्र्योटका सन्दर्भमा सङ्घीय, प्रदेश र स्थानीय सरकारले गर्नुपर्ने काम, नीतिगत सुधार र अर्थ प्रशासनसँग जोडिएकाले गर्नुपर्ने कामलगायत विषयमा प्रस्तुतीकरण केन्द्रित थियो ।
आर्थिक अनुशासन कायम गर्ने सवालमा कुनै पनि तलमाथि गर्न नमिल्ने उल्लेख गर्दै प्रधानमन्त्री दाहालले बेरुजु फछ्र्योट गर्ने सम्बन्धमा प्रतिवेदनले औँल्याएका विषयवस्तुलाई कार्ययोजनासहित कार्यान्वयन गर्नुपर्ने बताए । उनले आर्थिक विषयमा जिम्मेवारी लिएकाले इमान्दार भएर काम गर्न र पूर्णरुपमा कार्यान्वयन गर्न आग्रह गरे ।
Add Comment