करीव ४ जना नक्कली भुटानी शरणार्थी बनेर अमेरिका छिरको ओलीको खुलासा

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिका छिरेका ३ देखि ४ सय जना व्यक्ति नक्कली भुटानी शरणार्र्थी बनेर अमेरिका छिरेको खुलासा गरेका छन् । ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा बहालवाला सचिवदेखि राजनीतिक दलका नेताहरु एकपछि अर्को मुछिदै गएपछि सो खुलास गरेका छन् । यसले राजनीतिक तरङ्ग छाएको छ ।

शरणार्थी प्रकरणमा पक्राउ परेका ब्यक्तिहरुको बयान र प्रहरीले भेट्टाएको प्रमाणका आधार हेर्दा सुरक्षा निकाय नै झस्किएको अवस्था छ । यस्तो अवस्थामा राजनीतिक प्रतिशोषका अधारमा निर्दोष ब्यक्तिहरुलाई समेत मुछ्ने काम भएको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओली पछिल्लो समय निकै आक्रोशित बन्न थालेका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय राजनीतिक दलका नेताहरुले अनुसन्धानलाई प्रभावित पार्ने गरी अभिब्यक्ति दिन थालेका छन् ।                                                                           भ्रष्टाचारमा संलग्न जो कोहीलाई पनि कारबाही गर्नुपर्ने अभिब्यक्ति दिने तर अनुसन्धानमा प्रभावित पार्ने तथा अप्रत्यक्ष रुपमा ‘थ्रेट’ दिने काम गर्न हुन थालेको छ ।

नेपालीलाई नक्कली शरणार्थी बनाएर मोटो रकम असुल्ने गिरोहमा राजनीतिक दलका प्रभावशाली नेताहरु पनि मुछिएपछि विषय पेचिलो बनिरहेको छ । सो काण्डामा पक्राउ पूर्जी जारी भएपछि पूर्व उपप्रधान एवम् गृहमन्त्री एमाले नेता टोपबहादुर रायमाझी वैशाख २० गतेदेखि फरार भएका छन् ।

रायमाझीलाई प्रहरीले खोजी तीब्र पारिरहेकाबेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ३ सय देखि ४ सय जना नेपाली नक्कली शरणार्थी बनेर अमेरिका छिरिसकेको अभिब्यक्ति दिएका छन् । साथै उनी टोपबहादुरको रक्षा कवज बन्ने प्रयास गरिरहेका छन् ।

नक्कली शरणार्थी बनाएर मोटो रकम असुल्ने गिरोहमाथि अनुसन्धान तीब्र भइरहँदा ओलीको यो अभिब्यक्तिले अनुसन्धानलाई प्रभावित पार्न खोजेको सुरक्षा स्रोतको भनाई छ ।

भ्रष्टाचारमा दोषी देखिएका जोकसैलाई पनि कारबाही गर्नुपर्ने अभिब्यक्ति पनि ओलीले दिएका छन् । तर उनैले यो प्रकरणमा एमालेलाई मात्रै सरकारले खेद्ने काम गरेको भनी आक्रोश पोखेका छन् ।

सन् २०१७ सकिएसँगै नेपालबाट भुटानी शरणार्थीहरुको तेस्रो मुलुक आप्रवासन औपचारिक रुपमै सकिएको थियो । १ लाख १२ हजार बढी भुटानी शरणार्थीहरुलाई अमेरिका लगायत विश्वका ८ देशमा पुर्नस्थापित गरिएको थियो । पाँच वर्षमा सक्ने गरी शुरु भएको आप्रवासन कार्यक्रम झण्डै १० वर्षमा पूरा भएको थियो ।

भुटानी शाही शासनको चरम दमन खेप्न नसकेपछि सन् १९९० पछि नेपालीभाषी भुटानीहरु झापा हुँदै नेपाल भित्रिएका थिए ।

भुटानी शरणार्थीहरुलाई तेस्रो मुलुक आप्रवासन गरिएपछि राष्ट्रिय समस्या नै किनारा लाग्दै गर्दा तेस्रो मुलुक आप्रवासन प्रक्रियामा छुटेको भन्दै नक्कली शरणार्थी बनाएर मोटो रकम असुल्ने गिरोहको प्रभावमा उच्चतहका कर्मचारीदेखि सांसद मन्त्रीहरु रहेको तथ्यहरु प्रहरीले भेटाउँदै गएको छ ।

प्रहरीले दुई जनालाई पक्राउ गरेपछि गिरोहको जालो सदनदेखि सिंहदरबारसम्म नै भेटिएको छ । हालसम्म उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेदेखि पूर्व गृहमन्त्री बालकृष्ण खाँण, पूर्व उपप्रधान तथा गृहमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप, पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार इन्द्रजित राई लगायत १२ जना प्रहरी खोरमा छन् ।

घटनामा संलग्नलाई कारबाही गर्न राजनीतिक दलका नेताहरुले प्रहरी प्रशासनलाई साथ दिनुपर्ने अहिलेको आवश्यकता हो । जुनसुकै काण्डमा मुछिएका भ्रष्टाचारीलाई कारबाही गर्नु सरकारको दायित्व हो । तर अनुसन्धानलाई प्रभावित पार्ने अभिब्यक्तिले कसैलाई पनि हित गर्दैन ।

त्यसैले गलत कुकर्ममा लागेका जोकसैलाई कारबाहीको डण्डा बर्साउन सबै दलका नेताहरुले प्रहरी प्रशासनलाई साथ दिन जरुरी छ ।