‘बिच’ भलिबल प्रतियोगिताको उपाधि त्रिभुवन आर्मीलाई

काठमाडौँ । राष्ट्रिय पुरुष ‘बिच’ भलिबल प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ । नेपाल पुलिस क्लबलाई पराजित गर्दै आर्मी उपाधि हात पार्न सफल भएको हो ।

पाल्पाको रानीमहलमा भएको खेलमा आर्मीका दिल सुनार र दुर्गाप्रसाद महत्तोको जोडीले पुलिसका इमबहादुर राना र चन्द्रबहादुर कुँवरको जोडीलाई २१–१९ र २१–१५ को सोझो सेटमा हराएर जित हासिल गरेको हो ।

उपाधिसहित आर्मी रु एक लाख ५० हजार र उपविजेता बनेको पुलिस रु एक लाख रकम प्राप्त गर्न सफल भएका छन् । अर्को विभागीय टोली सशस्त्र प्रहरी बलले कर्णाली प्रदेशलाई २१–१८ र २१–१७ को सोझो सेटमा हराउँदै तेस्रो स्थान ओगटेको छ । एपीएफले रु ५० हजार र कर्णालीले २५ हजार प्राप्त गरेको छ ।

आर्मीलाई उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका दिल सुनार प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बन्नुभएको छ । उनले रु दश हजार हात पारेको छ ।

यही वैशाख २८ गतेबाट रानीमहल प्राङ्गणमा सुरु भएको प्रतियोगितामा कर्णाली, लुम्बिनी, गण्डकी, बागमती र मधेश गरी पाँच प्रदेश, तीन विभागीय क्लब तथा आयोजक गरी नौ टोली सहभागी थिए ।