सरकारी वकिलको कार्यालयमा बालकृष्णको बयान सुरु

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीको हिरासतमा रहेका पूर्व गृहमन्त्री बालकृष्ण खाणलाई जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा लगिएको छ । पूर्वमन्त्री खाणको बयान सुरु भएको जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख अच्युतमणि न्यौपानेले जानकारी दिएको छ ।

आइतबार खाणसहित १२ आरोपितमाथि अदालतबाट ४ दिनको म्याद थप गरेको प्रहरीले सोमबार खाणलाई बयानका लागि लगेको हो । पूर्वगृहमन्त्री खाँण सहित नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेकालाई आइतबार हिरासतमा राखेर अनुसन्धानका लागि चार दिनको म्याद थप गरिएको थियो ।

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै गरिएको ठगीमा पक्राउ परेका मुख्य आरोपितहरुले खाँणको नाम लिएपछि उनको संलग्नाता रहेको भन्दै प्रहरीले खाँणलाई गत साता पक्राउ गरेको थियो । यही प्रकरणमा तानिएर फरार भएका नेकपा एमालेका सचिव एवं पूर्व उपप्रधमामन्त्री टोप बहादुर रायमाझीलाई प्रहरीले आईतबार राति पक्राउ गरेको थियो ।

नागरिकलाई अनागरिक बनाउने गिरोहका सबैको सम्पत्ति छानबिन हुने भएको छ । प्रहरीले ठगी, किर्ते दस्तखत र संगठित अपराधमा अनुसन्धान सकेपछि सम्पत्ति छानबिनका लागि सम्पत्ति शुद्धीकरण विभागलाई आग्रह गर्ने जनाएको छ । छानविन सकिएपछि सम्पति जाँचबुझमा अघि बढ्ने प्रहरी योजना छ । ‘हाई प्रोफाइल’ नेतासमेत जोडिएको भुटानी शरणार्थी प्रकरण राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय विषय बनेको छ ।