नक्कली भुटानी शरणार्थी प्रकरण : बयानका लागि बालकृष्ण खाणलाई लगियो सरकारी वकिलको कार्यालय

काठमाडौै ।  नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई सरकारी वकिल कार्यालय लगिएको छ ।

उनलाई आज बिहान बयानका लागि सरकारी वकिलको कार्यालय बबरमहल लगिएको हो । आइतबार अदालतले म्याद थप गरेसँगै प्रहरीले अनुसन्धान अगाडि बढाएको हो ।

खाण र उनका स्वकीय सचिव नरेन्द्र केसीलाई प्रहरीले २७ वैशाखमा पक्राउ पक्राउ गरेको थियो । यस्तै, यही प्रकरणमा पक्राउ परेका पूर्वउपप्रधानमन्त्री एवं एमाले सचिव टोपबहादुर रायमाझीलाई म्याद थप गर्न आज अदालत लगिँदै छ ।

उनी पक्राउ पुर्जी जारी भएको ११ दिनपछि आइतबार पक्राउ परेका थिए । रायमाझी पक्राउ परेसँगै नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका लैजाने भन्दै करोडौं रकम ठगी गरेको आरोपमा पक्राउपर्नेको संख्या १३ पुगेको छ ।

यस प्रकरणमा मुछिएपछि १९ वैशाखमा तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार डा। इन्द्रजित राई र २० वैशाखमा बहालवाला सचिव (तत्कालीन गृहसचिव) टेकनारायण पाण्डे पक्राउ परेका थिए ।

प्रहरीले उक्त घटनाका गिरोहहरू सन्दीप रायमाझी, केशव दुलाल, सानु भण्डारी, टङ्क गुरुङ, सन्देश शर्मा पोखरेल र सागर थुलुङलाई गत चैतमा पक्राउ गरेको थियो । यही २६ वैशाखमा काठमाडौंको टोखा बस्ने रामशरण केसी र मोरङ घर भएका गोविन्द चौधरी पक्राउ परे ।

घटनामा मुछिएर पक्राउ पुर्जी जारी भएका कांग्रेसका पूर्वसांसद आङटावा शेर्पा, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक र इन्द्रजित राईका छोरा निरज भने फरार छन् ।