टर्कीमा राष्ट्रपतिका लागि फेरि चुनाव हुने

काठमाडौं । टर्कीमा आइतबार भएको राष्ट्रपति चुनावमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत भन्दा बढी मत नपाएपछि फेरि चुनाव हुने भएको छ।

समाचार संस्था रोयटर्सका अनुसार सबैभन्दा धेरै बढी मत ल्याउने दुई उम्मेदवारबीच मे २८ मा फेरि चुनाव हुने भएको छ।

आइतबार भएको चुनाव बहालवाला राष्ट्रपति रेसेप तय्यिप एर्दोगानले सबैभन्दा धेरै मत पाएका छन्। उनले ४९।३९ प्रतिशत मत पाएका छन् भने उनका निकटतम् प्रतिस्पर्धी विपक्षी गठबन्धनका केमाल किलिक्डारोग्लुले ४४।९२ प्रतिशत मत ल्याए। अर्का उम्मेदवार सिनान ओगानले ५.३ प्रतिशत मत पाएका छन्। मे २८ मा हुने चुनावमा ओगानले कसलाई समर्थन गर्छन् भन्ने कुराले पनि महत्वपूर्ण भूमिका खेल्नेछन्।

टर्कीमा एर्दोगानले लगातार दुई दशकदेखि शासन चलाइरहेका छन्। तानाशाही शैलीमा शासन गरेको भन्दै उनको व्यापक आलोचना भइरहेको छ। टर्की उत्तर एटलान्टिक सन्धी संगठन (नेटो) को सदस्य राष्ट्र हो। तर एर्दोगानले भने रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग सुमधुर सम्बन्ध बनाएका छन्।

दोस्रो चरणमा पुगेका दुबै उम्मेदवारले आफूले चुनाव जित्ने दाबी गरेका छन्।