शरणार्थी प्रकरण : सरकारले सदनलाई जानकारी नगराएको भन्दै सांसदले पोखे आक्रोश

काठमाडौँ । नेकपा (एमाले) का सांसद ठाकुरप्रसाद गैरेले नक्कली भुटानी शरणार्थी प्रकरणबारे सरकारले सदनलाई जानकारी नगराएको भन्दै आक्रोश पोखेका छन् । सो प्रकरण जघन्य अपराध भएको र सभामुखले रुलिङ गर्दा पनि सरकारले सो विषयबारे संसदलाई अझै जानकारी नगराएकोमा उनले आक्रोश पोखेका हुन् । गैरेले सरकारले सदनलाई जानकारी नदिएसम्म संसदको काम कारबाही अगाडि बढाउन नहुने बताए ।

सोमबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै सांसद गैरेले संसदको कामकारबाहीलाई रोकेर भएपनि सरकारलाई त्यसबारे संसदमा जानकारी गराउन रुलिङ गर्न पनि सभामुख समक्ष माग गरे ।

उनले अन्तराष्ट्रिय जगतको समेत ध्यानाकर्षण भईरहेको सो प्रकरणबारे किन संसदलाई जानकारी नगराएको भनि सरकारलाई पटकपटक प्रश्न गरे ।

गैरेले भने, ‘प्रतिनिधिसभाको २६ गते र २७ गतेको बैठकमा नेपालीलाई भुटानी शरणार्थी बनाएर विक्री वितरण गर्ने मानव तस्करीको कामको विरुद्धमा यो सदनमा बुलन्द आवाज उठेको थियो । २७ गतेको बैठकमा स्वयम सभामुख महोदयले सरकारलाई संसदको तर्फबाट जानकारी गराउनका लागि रुलिङपनि भएको थियो । तर आजको कार्यसूचिमा पनि मैले सरकारले यस विषयमा यो सार्वभौम सदनलाई जानकारी गराउने कार्यसूचि मैले देखिन । म माननीय सभामुखज्यूको गम्भिर ध्यानाकर्षण गराउनु चाहन्छु ।’

सांसद गैरेले सो प्रकरणबारे निष्पक्ष छानविन गरी दोषीमाथि कडा कारबाही गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए ।