रेशम चौधरीलाई नछुटाए देशमा आगो बाल्ने एलिजा गौतमको घोषणा

काठमाडौं । रेशम चौधरीको मुद्दामा हिजो सर्वोच्च अदालतले अन्तिम फैसला सुनाएसँगै नागरिक उन्मुक्ति पार्टीका एक हुल व्यक्तिहरु माइतीघर मण्डलामा पुगेका थ्रिए र त्यहि हुलको केन्द्रमा थिइन् पत्रकार ऋषि धमलाकी पत्नी तथा सो पार्टीकी केन्द्रीय सदस्य एलिजा गौतम । उनले सर्वोच्चको फैसलाविरुद्ध चर्को अभिव्यक्ति दिइन् । रेशम चौधरी नछुटेको खण्डमा देशमा आगो लाग्ने घोषणा गरिन् ।

‘जबसम्म उहाँले न्याय पाउनुहुन्न, हामी चुप बस्दैनौं, देशव्यापी आन्दोलन हुन्छ,’ एलिजाले भनिन्, ‘अब यदि रेशम चौधरीलाई छुटाइएन भने आगो बल्छ देशमा ।’

निर्दोष व्यक्तिलाई ९–१० वर्षदेखि जेलमा राखिएको गुनासो उनले गरिन् । उनले भनिन्, ‘तपाईं हामी सम्झिउँ न, हाम्रै दाजुभाई, हाम्रै परिवारमा यस्तो घटना घटेको भए कस्तो हुन्थ्यो होला रु हामीलाई आज त्यस्तै भएको छ ।’

सञ्चारकर्मीले उनलाई सोधे, ‘उक्त घटनाका मृतकका परिवारलाई पनि त्यस्तै पीडा भएको थियो होला नि त रु’यो प्रश्नको जवाफ एलिजाले दिन सकिनन् । उनीसँगै रहेका कार्यकर्ताले बोले ।

उनले भने, ‘यो आन्दोलन हो साथी । तपाईंहरु ‘घटना’ नभन्नुस । टिकापुर घटना होइन, आन्दोलन हो । १७ हजार मारिँदा उनीहरुको चाहीँ परिवार थिएन ?’

एलिजाले आफूहरु यतिञ्जेल देशमा कानून छ भनेर चुप लागेर बसेको बताइन् । ‘हामीले स्वीकारेका थियौं । आज आउला, भोलि आउला भनेर यत्रो ९–१० वर्षसम्म चुप लागेर बसेका हौं । उहाँले न्याय पाउनुहोला भन्ने थियो । तर, खोइ त रु आज पनि हामी फुलमाला लिएर गेटमा बसेका थियौं, उहाँले सफाइ पाउनुहुन्छ भनेर । तर पाउनु भएन । एकदमै गलत निर्णय भयो । निर्दोष व्यक्तिलाई यसरी फसाउन पाइँदैन । अब हामी लड्छम् । सडकमा उत्रिन्छम्,’ आक्रोशित मुद्रामा उनले भनिन् ।

स्मरणीय छ कि धमलापत्नी एलिजा गत माघमा नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी हुन् । उनी सो पार्टीका तर्फबाट एकपटक शीर्ष नेताहरुको बैठकमा समेत भाग लिन पुगेकी थिइन् ।