रेशम चौधरीले छलफलका लागि कारागारमै बोलाए आफ्ना पार्टीका नेताहरूलाई

फाईल तस्बिर

काठमाडौं । डिल्लीबजार कारागारमा रहेका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले नेताहरूलाई कारागारमै छलफलका लागि बोलाएका छन् ।

टीकापुर घटनामा दोषी ठहर गर्दै उनलाई हिजो सर्वोच्चले जन्मकैद हुने उच्च अदालत दीपायलको फैसला सदर गरेपछि चौधरीले आफ्ना पार्टीका नेताहरूलाई कारागारमा बोलाएका हुन्।

पार्टीका संस्थापक नेता चौधरीले कारागारमै छलफलका लागि बोलाएको नागरिक उन्मुक्तिका महासचिव रतन थापाले जानकारी दिए।

‘सर्वोच्चको आदेशपछि फरक परिस्थिति उत्पन्न भएको छ। उहाँसँग छलफल गरेर धारणा बनाउनुपर्ने भयो। यही विषयमा आज एक बजे पत्रकार सम्मेलन पनि छ,’ थापाले भने।

उनले अहिले ११ बजे आफूहरू कारागार पुग्ने जानकारी दिए। यता कारागार प्रशासन भने नाउपाका नेताहरू आउन लागेको जानकारी नपाएको बताएको छ।

‘उहाँलाई अहिलेसम्म कसैले भेट्न आउनुभएको छैन। आउने कुनै जानकारी पनि पाएका छैनौं,’ डिल्लीबजार कारागारका जेलर रुमबहादुर महतले भने।

२०७२ भदौ ७ गते टीकापुरमा भएको प्रदर्शनले हिंसात्मक रूप लिँदा आठ जना प्रहरी र एकजना दूधे बालकको ज्यान गएको थियो।

घटनामा प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपाने, प्रहरी निरीक्षकद्वय बलराम विष्ट र केशव बोहरा, हवल्दार श्यामबहादुर खड्का, प्रहरी जवान लोकेन्द्रबहादुर चन्द, सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार ललित साउद, सहायक हवल्दार रामबिहारी चौधरी र प्रहरी जवान जनक नेगी मारिएका थिए।

सो घटनामा रेशम चौधरी दोषी रहेको भन्दै जिल्ला अदालत कैलाली र उच्च अदालत दीपायलले उनीलाई जन्मकैदको सजाय सुनाएका थिए। मंगलबार सर्वोच्चले उच्च अदालतको फैसला सदर गरिदिएपछि उनी तत्काल जेलबाट निस्किने सम्भावना सकिएको छ।

रेशम चौधरी निर्दोष रहेको र उनलाई रिहा गर्नुपर्नेलगायत मुद्दा लिएर गठन भएको नागरिक उन्मु्क्ति पार्टीले संसद ४ सिट जितेको छ। पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ अहिले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री छन्। उनी रेशम चौधरीकी श्रीमती हुन्।